राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : शाक्य

जेष्ठ ५, २०८२

रासस

I understand politics but I don't come into politics, let it be clear to everyone: Shakya

काठमाडौँ — प्रथम महिला राधिका शाक्यले आफूले राजनीति बुझेको तर राजनीतिमा नआउने स्पष्ट गरेकी छन् ।

प्रेस चौतारी नेपालले आइतबार आयोजना गरेको ‘करुणा’ पुस्तक ‘लेखिका राधिका शाक्यको सम्पादकसँगको संवाद’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी शाक्यले विद्यार्थीकालदेखि नै राजनीतिमा केहीहदसम्म आबद्ध भएको र राजनीतिक व्यक्तित्वसँगको विवाह भएपछि मुलुकको राजनीतिक घटनाक्रमबारे राम्रोसँग बुझ्ने अवसर पाए पनि राजनीति गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेकी हुन् । 

नेपालमा पछिल्ला दिनमा सकारात्मक सोचका साथ काम गर्नेभन्दा नकारात्मक धारणा बनाइ अनावश्यक कुरा काट्ने पक्ष हावी भएको उल्लेख गर्दै उनले भनिन्, 'देशलाई माया गर्ने एक सामान्य नेपाली नागरिक भएर बस्न चाहन्छु, मातृभूमिप्रति कदापि गद्दारी गर्दिन । अब यो उमेरमा राजनीति गर्न जाने पक्षमा म छैन ।'

प्रथम महिला शाक्यले राजनीतिक अस्थिरताको अफवाह फैलाइ सरकारलाई निर्वाध रूपमा काम गर्न नदिनेहरू हावी हुनु मुलुकको ठूलो समस्या भएको जिकिर गरिन् । उनले दिनरात नभनि देश र जनताका पक्षमा काम गर्नेहरूलाई धन्यवादसहित प्रशंसा गर्नुको सट्टा गालिगलौज गरी त्यसैमा रमाउने प्रवृत्ति हावी भइरहे देश कहाँ पुग्ला भनी चिन्ता व्यक्त गरिन् । 

एक प्रश्नको जवाफमा शाक्यले देशको प्रधानमन्त्रीसँग भेट्न, सम्पर्क बढाउन र लाभ लिन खोज्नेहरू हाम्रो समाजमा नहोलान् भन्न नसक्ने धारणा राखिन् । 'शक्तिमा भएका हैसियतले मेरो माइतीतर्फका कुनै पनि नातासम्बन्धका कोही–कसैले राजनीतिक लाभ लिएका भए खोजपड्ताल गरी वास्तविकता सार्वजनिक गरिदिनुहुन आमसञ्चरकर्मीसँग अनुरोध गर्दछु,' उनले भनिन् ।

आफ्नो प्रेरणाको स्रोत श्रीमान् ओली रहेको र उनकै कारण आफूले दुई विषयमा स्नातकोत्तर तहको उपाधि हासिल गर्न सफल भएको उल्लेख गर्दै शाक्यले फुर्सद हुनासाथ लेख्न–पढ्न रमाउने र सानैदेखि आफूमा कारुणिक स्वभाव रहेको धारणा राखिन् । श्रीमान् र आफूबीच जीवन र देशलाई हेर्ने दर्शन मिलेकाले पारिवारिक जीवन सहज ढङ्गबाट अघि बढेको उल्लेख गर्दै उनले राति अबेरसम्म अध्ययन–लेखनमा रमाउने प्रधानमन्त्री ओलीको आत्मविश्वासहित स्मरण शक्ति अद्भूत रहेको बताइन् । 

शाक्यले ‘मेरो अनुभूति’ नामक कृति सार्वजनिक भइसकेको जानकारी दिँदै प्राप्त अनुभव र अनुभूतिलगायत आफूसँग भएका सूचना र सन्दर्भ सामग्रीलाई समेटेर पुस्तकका रूपमा तेस्रो कृति ल्याउने बताइन् । 

त्यस अवसरमा देवी नेपाल र वरिष्ठ पत्रकार बबिता बस्नेतले भर्खरै सार्वजनिक कृति ‘करुणा’ माथि समीक्षा गर्दै करुणाकी खानी शाक्य र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री  ओलीलाई बुझ्न खोज्ने जोकोहीका लागि पुस्तक उपयोगी हुने धारणा राखेका थिए । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सङ्घर्ष, त्याग, समर्पण, सालिनता, सहनशीलताका हिसाबले ‘प्रथम महिला शाक्य’ अनुकरणीय व्यक्तित्व भएका उल्लेख गर्दै उनीबाट नेपाली समाजले धेरै कुरा सिक्न सक्ने बताए । उनले शाक्यद्वारा लिखित ‘करुणा’ पुस्तक पढी लाभान्वित हुन सबैलाई आग्रह गरेका थिए ।  

प्रेस चौतारीका महासचिव हीरामान लामाले नेपाली राजनीतिमा शीर्षस्थानमा रहेका केपी शर्मा ओली र राधिका शाक्यको संघर्ष, संवेदना, सङ्कल्प, अनुभव, संयोग र तथ्यलाई समेटेर कृति आएकाले यसलाई नेपाली समाजले प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।  

राजधानी काठमाडौंस्थित मूलधारका करिब सबैजसो आमसञ्चार माध्यमका सम्पादकहरू सो संवाद कार्यक्रममा सहभागिता थिए । 

रासस

Link copied successfully