प्रतिनिधिसभा बैठक : तिलगाउँका बासिन्दाको उद्धार गर्न माग

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

House of Representatives meeting: Demand to rescue the residents of Tilgaon

काठमाडौँ — प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद लामाले हिमताल फुटेर आएको पहिरोका कारण स्थानीयवासी जोखिममा रहेका भन्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । अठार परिवारका ३२ जना हाल नजिकैको बारीमा त्रिपालको सहारामा बसिरहेको जानकारी उनले सदनलाई दिए

'पहिरोपीडितहरू असाध्यै अप्ठ्यारो र त्रसित अवस्थामा छन्,' सांसद लामाले भने, 'उनीहरूको तत्काल उद्धार गर्दै उक्त स्थानमा सरकारले निरीक्षण, संरक्षण र आवश्यक राहत उपलब्ध गराउन ध्यानाकर्षण गराउँछु।'

तिलगाउँमा यही जेठ १ र २ गते गएको पहिरोले १८ परिवार जोखिममा पारेका छन्। यही जेठ १ गते मध्यराति गएको पहिरोबाट ती परिवारहरू प्रभावित भएका हुन्। सांसद लामाले हिमाल नजिकका बस्तीहरू दैवी प्रकोपको जोखिममा रहेकाले त्यसतर्फ सरकारको ध्यान दिन आग्रह गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully