हुम्लाको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन गृहमन्त्रीको निर्देशन

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Home Minister's directive to provide immediate relief to the flood affected areas of Humla

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा सोमबार बसेको बैठकमा गृहमन्त्रीले पहिरोबाट विस्थापितलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका हुन् । उनले बिस्थापितका लागि तत्काल हेलिकोप्टरबाट राहत सामाग्री र स्थलगत अध्ययनका  लागि प्राविधिक टोलीसमेत पठाउन निर्देशन दिएका हुन् । 

बैठकमा मन्त्री लेखकले तत्काल विस्थापितहरूको खानेबस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्नसमेत निर्देशन दिए । राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसित आवश्यक समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । 

हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन् । अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएको खबर छ । त्यसैगरि बैठकमा मन्त्री लेखकले प्रिमनसुन पूर्व नै विपद प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वय थाल्न निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सात वटै प्रदश र ७७ वटै जिल्लाका सुरक्षा समितिसँग बैठक छलफल गरि प्रिमनसुन पूर्व नै तयारी थाल्न गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

त्यस्तै, विपद् प्रतिकार्यमा नीजि संघसंस्थासँग भएको स्रोत साधन र क्षमतालाई समेत उपयोग गर्ने गरी समन्वय तथा सहकार्य गर्ने व्यवस्था मिलाउन मन्त्री लेखकले जोड दिएका छन् । 

 बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

कान्तिपुर

Link copied successfully