काठमाडौँ — शेरबहादुर देउवापछि को सभापति बन्ने भन्ने विषयमा कांग्रेसभित्र छलफल व्यापक भएको छ । १५औं महाधिवेशनमा देउवा सभापतिको उम्मेदवार बन्न नमिल्ने भएपछि महामन्त्री गगन थापालगायतले आन्तरिक तयारी थालिसकेका छन् ।
अर्कोतिर देउवा पक्षकै केही नेताहरू पनि आफ्नो पक्षमा माहोल बनाउन छलफल सुरु गरेका छन् । कांग्रेसको विधानमा ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन नपाउने’ व्यवस्था गरिएको छ ।
यसैबीच देउवानिकट मानिने कांग्रेसका पूर्वपदाधिकारीहरूले आइतबार सानेपामा छलफल गरेका छन् । छलफलमा कांग्रेसका पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधिसहितका नेता उपस्थित छन् । त्यस्तै पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र कृष्णप्रसाद सिटौला तथा प्रवक्ता प्रकाशशरण महत पनि उक्त छलफलमा छन् । भावी अधिवेशन र वर्तमान राजनीतिक विषयमा छलफल भएको बैठकमा उपस्थित एक नेताले बताए ।
कांग्रेस विधानले केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षको तोकेको छ । शेरबहादुर देउवा ०७८ मंसिरमा १४ औं महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन् । विधानअनुसार ०८२ मंसिरभित्र महाधिवेशन हुनुपर्नेछ । तर विधानमा एक वर्ष बढाउन मिल्ने प्रबन्ध राखिएको छ । यस हिसाबले ०८३ मंसिरभित्र महाधिवेशन गराउनुपर्ने देखिन्छ ।
संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थालाई टेकेर हेर्ने हो भने थप ६ महिना समय उपलब्ध हुन सक्छ । संविधानको धारा १६९ को उपधारा ४ (ख) ले साढे पाँच वर्षभित्र महाधिवेशन गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । यो हिसाबले ०८४ को जेठभित्र १५ औं महाधिवेशन गर्न नसके कांग्रेस दलमाथि नै संवैधानिक संकटको प्रश्न उठ्ने छ ।
०८४ को संसदीय चुनावपछि मात्र महाधिवेशन हुनुपर्छ भन्ने प्रस्ताव राख्नेमा पूर्वमहामन्त्री समेत रहेका बीपी पुत्र शशांक कोइराला अग्रपंक्तिमा छन् । शशांकले सार्वजनिक मञ्च र सञ्चारकर्मीमाझ यस्तो धारणा निरन्तर राख्दै आएका छन् । १४ औं महाधिवेशनमा सभापति देउवालाई समर्थन गरेका शशांकको अभिव्यक्तिलाई दाजु शेखर कोइराला र उनी पक्षीय नेताहरूले अर्थपूर्ण रूपमा लिएका छन् ।
पार्टी नेतृत्वका लागि मुख्य गरी नेता शेखर कोइराला र गगन थापा मैदानी दौडधुपमा देखिएका छन् । नेतृत्वकै आकांक्षी रहेका उपसभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइराला भने सभापति शेरबहादुर देउवाको समर्थन खोजिरहेका छन् । पछिल्लोपटक देउवा र महामन्त्री थापाबीच पनि सम्बन्ध घनिष्ट बन्दै गएको छ ।
