काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणको लापरबाहीको कारण धुलिखेलमा विद्युत्को खम्बामा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु भएको घटनामा आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले करेन्ट लागेर मजदुरको मृत्यु हुनु कुनै दुर्घटना नभई विद्युत् प्राधिकरणको लापरबाहीका कारण भएको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणमार्फत् काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका-७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा-१२ घारीबथाका २८ वर्षीय उपेश परियारको शनिबार करेन्ट लागेर मृत्यु भएको थियो ।
सांसद शाहीले विद्युत् प्राधिकरणको यस्तो लापरबाहीलाई लिएर कारबाही गर्नुपर्ने माग राखेका छन् । यस्तै उनले फरक विचार राखेकै आधारमा सरकारले पक्राउ गरिरहेको भन्दै आपत्ति जनाए ।
संविधानले नै फरक विचार राख्ने अधिकार दिए पनि सरकारले धरपकड गरिरहेकाले सरकार संविधानभन्दा पनि माथि भएको टिप्पणी गरे ।
