सगरमाथा संवाद २०२५ को अन्तिम दिन, २४ विदेशी पाहुनाले गरे हिमालको अवलोकन

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

On the last day of Everest Dialogue 2025, 24 foreign guests visited the mountain

काठमाडौँ — सगरमाथा संवाद २०२५ को अन्तिम दिन बिहान २४ जना विदेशी पाहुनाले मउन्टेन फ्लाइट गरेका छन् ।

हिमाल देखाउने उद्देश्यका साथ वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको नेतृत्वमा सगरमाथा संवादका लागि नेपाल आएकामध्ये करिब २४ विदेशी पाहुना र केही स्वदेशीहरूले माउन्टेन फ्लाइट गरेका हुन् ।

नेपाल सरकारले उक्त फ्लाइटको आयोजना गरेको थियो । विदेशी पाहुनाहरूले सगरमाथा लगायतका हिमालहरूको अवलोकन गरेका हुन् । सेताम्मे हुने गरेको हिमालहरूमा जलवायु परिवर्तनको असर देखिएको वनमन्त्री शाहीले बताए ।

On the last day of Everest Dialogue 2025, 24 foreign guests visited the mountain

'नेपालको हिमाल प्रत्यक्ष अनुगमन गराउने निर्णयअनुसार पाहुनाहरुलाई आज हामीले माउन्टेन फ्लाइट लगेका हौं,' उनले भने, 'जहाँ हामीले कुनै हिमाल कालो पहाड र कुनै हिमालमा मात्र हिउँ देख्यौं ।' कालो हिमाल देखिनुको अर्थ यो जलवायु परिवर्तनको असरबाट भएको कुरा अनुभव गराइएको उनको भनाइ छ । यो जलवायु परिवर्तनका कारण विश्व तापमान वृद्धि भइरहेको र सेतो हिमाल कालो भएको उनले बताए ।

'यी कुरा आज विदेशी पाहुनाले देख्नुभयो,' उनले भने, 'यही कुरा संवादमार्फत उठाएका हौं ।' शुक्रबारदेखि सुरु भएको पहिलो संस्करणको सगरमाथा  संवाद आइतबार सम्पन्न हुँदैछ । तीन दिने संवादमा नेपालले जलवायु परिवर्तन, पर्वतहरु र मानव भविष्य विषयमा बहस उठाइरहेको छ । 

कान्तिपुर

Link copied successfully