सरकार सोचेजसरी चलेको अनुभव भएन : कांग्रेस सांसद गौतम

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

I have not experienced the government running as expected: Congress MP Gautam

काठमाडौँ — कांग्रेसका सांसद सञ्जय गौतमले सरकार सोचेजसरी चल्न नसकेको बताएका छन् । संसद्का दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर गठन गरिएको सरकारले जनतामा देखिएका निराशा चिर्न नसकेको उनको भनाइ छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले जनतामा देखिएका निराशालाई लिएर सरकार र सांसद सचेत हुनुपर्ने बताए । 'कांग्रेस र एमालेले सरकार बनाएको छ । सरकार सोचेजसरी चलेको अनुभव भएको छैन,' उनले भने, 'संसद्‍मा जसरी जनताका समसस्या आउनुपर्ने हो त्यसरी आएको पाइँदैन । न्यायपालिकातिर पनि जनताको आशा भरोसा पैदा नभएको जस्तो लाग्छ ।'

राज्यका निकायहरूले सही ढंगले काम गर्न नसक्दा समस्या उत्पन्न भएको गौतमको भनाइ थियो । उनले भने, 'जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौं । नयाँ सोच र सम्भावना सिर्जना गर्न सकेका छैनौं ।' सांसद गौतमले मुलुकको हालत सही नभएको बताए । जनताका निराशालाई सम्बोधन गर्न लाग्नुपर्ने उनले बताए ।

त्यस्तै, बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशसँग जोड्नुपर्ने सांसद गौतमले प्रस्ताव गरेका छन् । कर्णालीका दुर्गमका जिल्लाका विकासको लागि पनि यी दुई जिल्लालाई कर्णाली प्रदेशमा लानुपर्ने उनको भनाइ थियो । हाल यी दुई जिल्ला लुम्बिनी प्रदेशमा छन् ।

कान्तिपुर

Link copied successfully