मिर्गौलापीडितलाई अंग प्रत्यारोपणका लागि सहज व्यवस्था मिलाउन माग

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

Demand for easy arrangements for organ transplants for kidney patients

काठमाडौँ — नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले मिर्गौलापीडित बिरामीहरूलाई अंग प्रत्यारोपण गर्ने व्यवस्थालाई सहज बनाउन माग गरेकी छन्। उनले कानुनले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिन सकिने प्रावधान गरेको भन्दै सरकारले त्यसको प्रभावकारी कार्यान्वयन भने गर्न नसकेको बताइन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले अंग प्रत्यारोपणसँग सम्बन्धित कानुनी र नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै मस्तिष्क मृत्यु कार्यक्रमको प्रभावकारितालाई छिटो छरितो र दिगो बनाउन आग्रह गरेकी हुन्।

'मिर्गौला रोगबाट पीडित बिरामीहरू अंग प्रत्यारोपणका लागि आवश्यक मिर्गौला नपाएर मृत्युवरण गर्न बाध्य छन्। देशभर अन्तिम चरणको मिर्गौला रोग लागेका करिब ८ हजार बिरामी  अंगदाताको पर्खाइमा छन्।  मिर्गौला रोगको अन्तिम चरणमा पुगेका र प्रत्यारोपणको प्रतीक्षामा रहेका ९० प्रतिशत बिरामी अंगदाता नपाएर ज्यान गुमाईरहेका छन्,' सांसद गौतमले भनिन्, 'अंगदाता नहुँदा कैयौं मिर्गौला पीडितहरू डायलाइसिसमै निर्भर रहनु परिरहेको छ, जसले उनीहरूको शारीरिक, मानसिक र आर्थिक जीवनलाई दिनप्रतिदिन कष्टकर बनाइरहेको छ।'

सांसद गौतमले मिर्गौला पिडित बिरामीलाई लक्षित गरी सरकारले ‘मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी नियमावली, २०७३’ ल्याएको, तर कार्यान्वयनमा भने सरकारको ध्यान नपुगेको बताइन्। 

'हरेक वर्ष डायलासिसमा मात्र सरकारले वार्षिक करिब डेढ अर्ब रूपैयाँ खर्च गरीरहेको छ । मिर्गौला रोगीको जीवनस्तर सुधार्न र डायलासिसमा भइरहेको सरकारी खर्च कम गर्न प्रत्यारोपण नै उपयुक्त विकल्प हो। जबकि नियमवलीमा प्राप्त अंगलाई प्राथमिकताक्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउन समन्वय इकाई तोक्ने उल्लेख छ। तर सरकारले हालसम्म यस्तो इकाई तोकेको छैन,' उनले भनिन्।

कान्तिपुर

Link copied successfully