दारासिङ : मारिएको पात्रलाई ब्युँझाउने कथा

यसपटक कथा भन्न चेतन काठमाडौँमै आइपुगेका छन्, पूर्वमा मिथ बनेका एक पात्र लिएर

जेष्ठ ४, २०८२

समर्पण श्री

Darasingh : The story of awakening a slain character

काठमाडौँ — रंगकर्मी चेतन आङ्थुपो कहिले इलामका जंगलभित्र पसेर कथा खोस्रन्छन् । अनि जंगलमै थिएटर खडा गरेर दर्शकरूलाई देखाउँछन् । कहिले खेतका गह्रामा मञ्च बनाएर नाट्य उत्सव मनाउँछन् ।

कहिले गाउँ त कहिले सहर ।

मौलिक स्वादका कथा फरक शैलीमा मुखरित गर्नु चुलाचुली थिएटरको स्वभावै हो । चुलाचुलीका कथामा इतिहास बनिसकेका पात्रहरूको सुस्केरा सुनिन्छन् । उनीहरूको आर्तनाद वा विद्रोही स्वर पनि ।

मानौं ती सुस्केरा अझै सकिएका छैनन् । ती स्वर अझै निभेका छैनन् । गर्तमा बिलाउन लागेको इतिहास उधिनेर वर्तमानसँग जोड्दै भनिएका कथाका मुद्दाहरू अहिले पनि उत्तिकै सार्थक छन् ।

किनकि ती अझै टुंगिएका छैनन् । त्यसकारण यी नाटकहरूमा राज्यका कठोर चरित्र उदांगिइरहन्छन् । 

Darasingh : The story of awakening a slain character

यसपटक कथा भन्न चेतन काठमाडौँमै अडिएका छन् । पूर्वमा मिथ बनेका एक पात्र छन्– दारासिङ । 

जसलाई पञ्चायती सरकारले खलपात्र बनायो । तीसको दशकमा बलिष्ठ ज्यान भएको, पञ्चायती सत्ताको स्वभावसँग पौंठेजोरी खोजी हिँड्ने कर्णबहादुर केरुङ लिम्बू २०३७ साल पुस मसान्तमा अज्ञात समूहको आक्रमणमा पर्छन् र मारिन्छन् ।

उनै कर्णबहादुरको कथा भन्न चेतन काठमाडौँमा अडिएका हुन् यसपालि । थापागाउँस्थित मण्डला थिएटरमा मञ्चनरत नाटकमा अहिले दारासिङ बाँचिरहेका छन् । कथामा चेतनको निर्देशन  र सुमन लिङ्देनको लेखन छ । निर्देशनमा चेतनलाई रुपेश लामाले सघाएका छन् । 

यसअघि चेतनले पूर्वबाट नाटक ‘झोडा’ काठमाडौँ ल्याइपुर्‍याएका थिए । २००० सालयता पूर्वका तराईमा झोडा फाँडेर बस्ती बसाएका भूतपूर्व सैनिकका परिवारले तत्कालीन पञ्चायती सरकारबाट खेप्नुपरेको ज्यादती र उनीहरूको बलिदानीको कथा ‘झोडा’मा छ । यो लेखक गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’मा आधारित थियो । ‘झोडा’मा कति पात्रहरू राज्यको हिंसाका कारण परिवारविहीन भए । उनीहरूले आफ्नाहरू गुमाए ।

अन्त्यमा उनीहरूले विद्रोहको विगुल फुकेका थिए । रोचक कुराचाहिँ ‘झोडा’को कथा जहाँ टुँगिन्छ, त्यहीँबाट सुरु हुन्छ ‘दारासिङ’को कथा । ‘२८ सालपछिको समयलाई दारासिङमार्फत् देखाउन खोजेको हुँ,’ चेतन भन्छन् । 

दारासिङ बाआमा गुमाएको पात्र हो । मानौँ कि ‘झोडा’मा हुर्किरहेको बालक ठूलो भयो । नजिकबाट बा आमाको संघर्ष देखिरहेको त्यो बालकको आँखामा विद्रोहको ज्वारभाटा थियो । उही कर्णबहादुर भयो ।

दादागिरी शैलीमा राज्यको दमनविरुद्ध उभियो । ‘झोडा’कै सिलसिलाको कथा भएकाले पात्रहरूले भोगिरहेको सास्ती उही छ । उनीहरूमाथि मोह देखाइएको छ । आफ्ना आफ्नालाई फुटाउने प्रपञ्च गरिएको छ । कर्णबहादुर न कुनै मोहमा फस्छ न लालचमा । उसका बलिष्ठ पाखुरा राज्यका मान्छेहरूसँग जुध्न तम्तयार छन् । झोडाको संघर्षमा आफ्नो बाआमा गुमाएको कुराले हरदम बिझाइरहेको छ उसलाई ।

Darasingh : The story of awakening a slain character

उसको स्वभावलाई लिएर प्रशासनले नाम दियो– दारासिङ । ‘ऊ हिंस्रक र आतंककारी जस्तो देखियो । उसको राम्रो काम सबै छेकियो । मेलामा उसको समूह आयो भन्दा सबै तर्सिन थाले । त्यो चिजचाहिँ पञ्चायत व्यवस्थाले निर्माण गरेको चरित्र थियो । जुन समाजको मनोविज्ञानमा हाउगुजी बन्यो,’ चेतन भन्छन्, ‘उसलाई जसरी नकारात्मक पात्रमा स्थापित गरिदियो । त्यो समुदायका लागि र व्यक्तिका लागि अन्याय भयो ।’

के नाटकमा दारासिङको चित्रण बलियोसँग आएको छ त ? सुनेको कथा दृश्यमा उन्नु चुनौतपूर्ण काम भन्छन् चेतन । दारासिङ जति रोचक र अनौठो सुनिन्छन्, दृश्यमा त्यतिकै रोचक र अनौठा भने देखिन्नन् ।

दारासिङको धङधङी भने श्रव्यकथामा जस्तो दृश्यमा कम पाइन्छ । दारासिङको उपस्थिति वर्णन गरिएजस्तो नाटकमा भेटिन्न । तर दारासिङको कथाचाहिँ इमानदारीपूर्वक भनिएको छ । दारासिङलाई नायक मात्र पनि बनाइएको छैन । उसलाई कमजोरीसहितको मानिस बनाइएको छ । लतहरूले उसलाई दु:ख दिएका छन् । माया गर्ने श्रीमती हुँदा हुँदै पनि उसले बहुविवाह गरेको छ । व्यावहारिक कुरामा उसले लत्तो छाडेको छ ।

दारासिङको भूमिका निभाउने आकाश सुहाङ रंगमञ्चमा नयाँ अनुहार हुन् । उनको अभिनय औसत छ । यद्यपि अभिनय करिअरमा सम्भावनाचाहिँ देखाएका छन् । सुन्दर कथालाई  कतै कतै कथालाई अनावश्यक तन्क्याइएको महसुस हुन्छ ।

कतिपय दृश्य नहुँदा पनि कथाको मर्मलाई असर पर्दैन थिए । धान नाच्नु, ख्याली गाउनुजस्ता पक्ष कुनै समय नेपाली रंगमञ्चका लागि नयाँ स्वाद थिए । अब भने ती दृश्यहरू दर्शकका लागि नयाँ छैनन् ।

मञ्चमा सेटहरूले झोडा फाँडेर बसेका बस्तीहरूको झल्को दिलाउँछ । झोडा बाँचेका मान्छेलाई विगततर्फ फर्काउन पनि सक्छ । कथामा लिम्बू संस्कृति सुन्दर तरिकाले आएको छ । संगीतले कथाको आकर्षण बढाउँछ ।

घटना र पात्रका मनस्थितिअनुसार बज्ने संगीतले दर्शकलाई बाँधिराख्छ । कथा अवधिभर आउने पात्रहरूको उपस्थिति उतिकै सान्दर्भिक छन् । नाटकमा विभिन्न प्रप्सहरूलाई विम्बात्मक रुपमा पनि प्रस्तुत गरिएको छ ।

Darasingh : The story of awakening a slain character

नाटकमा चेतन कथा छनोटमा अब्बल देखिन्छन् । र, आफ्नै शैलीमा उन्न पनि । कथालाई जति भन्नुपर्ने हो, नतन्क्याई भन्ने हो भने उनका नाटक सुन्दर हुन्छन् । आगामी जेठ ११ सम्म मञ्चन हुने नाटकमा आकाशसँगै अञ्जना राई, प्रविन मगर, लहना राई, मनकुमार योङहाङ, दावा शेर्पा लगायतको अभिनय छ ।

चेतनले पूर्वको कथा पूर्वमै भन्थे । यसपटक झोडालगत्तै ‘दारासिङ’ लिएर उनी काठमाडौं अडिए ।

किन त ?

‘काठमाडौं केन्द्रित हाम्रो समाजको मनोविज्ञान छ । त्यसको प्रश्न खोज्न पनि मलाई यहाँ आएर काम गर्न मन थियो,’ चेतन भन्छन् ।

उनलाई बोध हुन थालेको छ अचेल, ‘काठमाडौंले यहीँको कथा त सुन्दैन । हाम्रो कथा सुन्ने को होला र ?’ किनकि पूर्वबाहेकका दर्शकहरूको उपस्थिति पातलो छ ।

यद्यपि कथाचाहिँ भनिरहनुछ उनलाई । अझ भूमिको कथा त उनले २०७० देखि नै भन्दै आएका हुन् । ‘किपट’बाट सुरु भएको नाटक ‘झोडा’ हुँदै ‘दारासिङ’सम्म आइपुग्यो ।

‘अब कुन कथा भन्छु चाहिँ थाहा छैन । तर अघिल्ला नाटकमा झैं इतिहास र खोजमूलक कथाचाहिँ जरुर भन्नेछु,’ चेतन अठोट लिन्छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully