काठमाडौँ — कांग्रेस-माओवादी गठबन्धन सरकारले भारतलाई सित्तैमा शालिग्राम दिएको राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आरोप लगाएका छन् । त्यसरी भारतलाई सित्तैमा कालिगण्डकीको शालिग्राम दिनु आपत्तिजनक भएको उनको भनाइ छ ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आइतबारको बैठकमा सांसद गौतमले भारतलाई सित्तैमा शालिग्राम दिन बताएका हुन् ।
गौतमले कालीगण्डकी नदीको शालिग्राम नेपाली जनतालाई थाहै नदिई कांग्रेस-माओवादी नेतृत्वको सरकारले भारतलाई शालिग्राम सित्तैमा दिएको बताएका हुन् । उनले हिरा कसरी बन्छ भनेर अध्ययन अनुसन्धान नगरिक नै बहुमूल्य शालिग्राम सित्तैमा दिनु उचित नभएको उनले बताए ।
‘नेपालमा शालिग्राम धेरै छ । जसलाई हिरा भन्छन् । तलबाट ताप र माथिबाट प्रेसर भएपछि कोइला र कोइलाबाट शालिग्राम बन्छ । शालिग्रामबाट हिरा बनाएर ठूलो आम्दानी लिन सकिन्छ । जहाँ चीनले शालिग्रामबाट हिरा बनाएर फाइदा लिएको छ तर हामी सित्तैमा दिन्छौं,' गौतमले भने, '२०७९ माघ ११ गते सरकारले कालीगण्डकी नदीको शालिग्राम भारतलाई दियो । सो शालिग्राम कांग्रेस-माओवादी नेतृत्वको सरकारले सित्तैमा दिएको हो ।’
