काठमाडौँ — सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् ।
जेठ ४ गते बिहान ९:२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी गराएका छन् ।
उनीसँगै गएका वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथाको सफल आरोहण गरेका छन् । जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना भएको सगरमाथा सम्वाद कार्यक्रममार्फत सगरमाथा सम्वादको सन्देशलाई विश्वमाझ प्रवर्द्धन गर्ने उद्देश्यले सद्भावना दुतको रुपमा उनले सगरमाथा आरोहण गरेका हुन् ।
सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनलाई वैशाख १४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए । सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय उच्च भूभाग विपद् उपशाखामा कार्यरत रहेको सशस्त्रका डीएसपी तथा सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । ।
