गणतन्त्रमाथि खतरा बढ्यो : अध्यक्ष नेपाल

जेष्ठ ३, २०८२

कान्तिपुर संवाददाता

The threat to the Republic has increased: President Nepal

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रमा खतरा बढेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताले उखेलेर फालिसकेको प्रतिगामी तत्त्वले फेरि टाउको उठाउने प्रयास गरिरहेकाले त्यस विरुद्ध एकजुट हुन पार्टी आन्दोलनमा लागेको बताएका हुन्।

उनले भने, 'अहिले लोकतन्त्रमा खतरा तथा चुनौती देखिएको छ। विगतमा उखेलेर फालिएको प्रतिगामी तत्त्वले फेरि टाउको उठाउने प्रयास गरिरहेको छ। त्यसलाई निस्तेज पार्न हाम्रो पार्टी आन्दोलनमा लागेको हो।’

उनले कम्युनिस्ट आन्दोलनले जनतालाई मुक्ति दिएको भएकाले समाजवादको सपना पूरा गर्न कम्युनिस्ट पार्टीबाहेक अरूले नसक्ने दाबी गरे।

उनले कम्युनिस्ट आन्दोलनमा देखिएका अनेक विकृति र विसङ्गतिसँग जुध्दै आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए।

उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा देखिएका अनेक खाले विकृति, विसङ्गतिसँग जुध्दै क्रान्तिकारी सोच भएका मानिसहरूलाई उभ्याउन हामी लागि परेका छौँ। देशको विशेषतालाई बुझ्नु जरुरी छ। सफलतालाई उपभोग गर्न नजानेका कारण हामी कमजोर भयौँ। आफ्ना कमी–कमजोरी स्विकार्दै आग्रह–पूर्वाग्रह नराखी अघि बढ्नुपर्छ। जनताको पिरमर्कासँग जोडिन सकियो भने, असमानताविरुद्ध लड्न सकियो भने मात्र पार्टीको आन्दोलनको उपादेयता रहन्छ। चाहे त्यो सामन्ती संस्कार होस् वा कुरीति, सधैँ जुध्दै आएका छौँ।'

अध्यक्ष नेपालले मुलुकको परिस्थितिका आधारमा कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने विषयमा छलफल आवश्यक रहेको बताएका छन् ।

कान्तिपुर

Link copied successfully