काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र कतारका विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगो व्यवस्थापन सम्बन्धी विशेष दूत एवं उपमन्त्री बदर उमर अल दफाबीच शनिबार भेटवार्ता भएको छ । नेपाल सरकारले आयोजना गरेको प्रथम संस्करणको ‘सगरमाथा संवाद २०२५’ को अवसरमा वनमन्त्री शाही र कतारका विशेष दूत अल दफाबीच भेट भएको हो ।
भेटमा वनमन्त्री शाहीले नवप्रवर्तन क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारी गर्न कतारसँग औपचारिक छलफल गर्न नेपाल तयार भएको बताए । ‘नेपाल वन तथा वातावरण प्रविधि हस्तान्तरण, प्रदूषण नियन्त्रण र नवप्रवर्तन क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारीका लागि विशेष समझदारीको औपचारिक छलफल गर्न तयार छौं,’ भेटमा उनले भने, ‘सम्झौतामार्फत संयुक्त अनुसन्धान, प्रविधि आदानप्रदान, तालिम तथा क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरी साझा ज्ञान र सीप तथा स्रोतको प्रभावकारी सम्भव हुनेछ ।’
सोही भेटमा मन्त्री शाहीले जलवायु अनुकूल नवप्रर्तन प्रविधिमा नेपाल सहकार्य गर्न इच्छुक भएको बताए । कतारबाट नेपालले जलवायु वित्त, प्रविधि र हानी तथा नोक्सानी कोष स्थापनामा नेतृत्वकारी भूमिका र सहयोगको अपेक्षा गरेको बताए ।
‘जलवायु अनुकूलन, वन व्यवस्थापन, जैविक मार्गहरु पुन:स्थापना, वन्यजन्तु संरक्षणमा प्रविधि र नवप्रवर्तनलाई जोड दिँदै कार्बन व्यापार प्रणालीमा सहकार्य गर्दै जलवायु वित्त अभिवृद्धिमा कतारको भूमिका अहम् हुने देखिन्छ,’ उनले भने, ‘विश्वव्यापी जलवायु परिवर्तनका पहलमा कतारको नेतृत्व र प्रतिबद्धतालाई नेपालले उच्च सम्मान र प्रशंसा गरेको छ ।’
जेठ २ देखि सुरु भएको सगरमाथा संवाद ३ गते सम्पन्न हुँदैछ । नेपालले ‘जलवायु परिवर्तन, पर्वत र मानव भविष्य’ विषयमा बृहत् छलफल गर्दैछ । जहाँ १२ देशका मन्त्रिस्तरीय प्रतिनिधि र करिब ४० देशका प्रतिनिधिहरुले सहभागिता जनाएका छन् ।
