काठमाडौँ — नेपालले आयोजना गरेको पहिलो संस्करण ‘सगरमाथा संवाद २०२५’ को दोस्रो दिन (जेठ ३) मा हरित अर्थतन्त्र, हानी नोक्सानीबाट बच्ने, जलवायु न्याय र मानव भविष्यमाथि छलफल हुँदैछ ।
शुक्रबारदेखि सुरु भएको उक्त संवादमा नेपालले जलवायु परिवर्तनको जोखिम बढ्न नदिन हिमालदेखि टापु राष्ट्रसम्मलाई जोड्ने, हरित अर्थतन्त्रलाई प्राथमिकता दिने, जलवायु परिवर्तनको नोक्सानीबाट बच्ने र सम्बोधन गर्ने उपाय खोज्ने, जलवायुसम्बन्धी विश्वव्यापी तथा क्षेत्रीय साझेदारी बढाउने र जलवायु न्याय तथा मानव भविष्यका एजेन्डा उठान गरेको छ । यसैमाथि शुक्रबारदेखि विभिन्न राष्ट्रका प्रतिनिधि, विकास साझेदार, विज्ञ, अनुसन्धानकर्तासँग छलफल गरिरहेको छ ।
यसैगरी शनिबार हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा उपयोगमा जोड दिन छलफल गरिरहेको छ । यस छलफलको उद्देश्य विश्व तापक्रम वृद्धिलाई औद्योगीकरणपूर्वको स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी नदिनु रहेको छ ।
यसैगरी हानी नोक्सानीबाट बच्न जलवायु प्रेरित विपद्को सन्दर्भमा पर्वतीय जोखिम मूल्यांकन र अनुगमनको महत्त्व उजागर गर्ने, पर्वतीय क्षेत्रका विपद् जोखिम मूल्यांकनमा रहेका चुनौती, अवसर र नवप्रवर्तनमाथि छलफल गर्नु उद्देश्य लिइएको जनाइएको छ ।
संवाद र ज्ञान आदानप्रदानमार्फत सुरक्षित र दिगो पर्वतीय समुदाय निर्माण गर्नका लागि व्यवहारिक समाधान खोज्नु, जलवायु परिवर्तन र सहरीकरणबीचको सम्बन्ध र तिनले सहरी समुदाय, विशेष गरी सहरी गरिब वर्गमा पार्ने प्रभावको विश्लेषण गर्नु आजको छलफलको उद्देश्य रहेको छ । यो संवाद जेठ ४ गते सम्पन्न हुनेछ ।
