राजतन्त्र पुन:स्थापनाको प्रयत्नप्रति अध्यक्ष केसीको कडा आपत्ति

जेष्ठ ३, २०८२

रञ्जना बिसी

President KC's strong objection to the attempt to restore the monarchy

कैलाली — पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले राजतन्त्र पुन:स्थापनाको प्रयत्नप्रति कडा आपत्ति जनाएका छन् । ‘म प्रत्यक्ष निरंकुश राजतन्त्रको अनुभव गरेको मान्छे हुँ । गणतन्त्र, यद्यपि त्रुटिपूर्ण छ, तर राजतन्त्रभन्दा कयौं गुना राम्रो व्यवस्था हो,' उनले स्पष्ट पारे । 

धनगढीमा वर्तमान राजनीतिक परिस्थिति र गणतन्त्र रक्षाको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वको असफलता र राजनीतिक भ्रष्टाचारले जनतामा मोहभंग भएको स्वीकार गरे । वर्तमान देशको राजनीतिक अवस्था नेतृत्वको नैतिक कमजोरीपनको परिणाम भएको उनको ठहर छ । 'नेतृत्व गर्नेहरू राष्ट्र प्रतिबद्ध, इमानदार र निस्कलंक हुनुपर्ने हो । तर अहिलेको नेतृत्वले त्यो स्तर कायम राख्न सकेन,' केसीले भने । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले चैत १५ गते तीनकुनेमा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै गणतन्त्रविरोधी शक्तिहरू मौलाउँदै गएको बताए । ‘गणतन्त्रवादीहरूको कमजोरी र छिमेकी राष्ट्रबाट पाइरहेको समर्थनले राजावादीहरू पुनः सक्रिय भएका छन्,’ उनले भने ।

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष हरिकृष्ण पाण्डे, एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैसी, वामपन्थी नेता रामचन्द्र भट्ट, नेकपा केन्द्रीय सदस्य भरत बम लगायतको उपस्थिति थियो । 

रञ्जना

Link copied successfully