काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै नेताहरूले विभाजनको षड्यन्त्र गरेपछि आफूले पार्टी जोगाउन कडा कदम चाल्नु परेको दाबी गरेका छन्।
शनिबार बल्खुमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै ओलीले नेकपा (एमाले–माओवादी केन्द्र) एकीकरणपछि केही नेताहरूको मनसाय नेकपालाई ध्वस्त पार्ने रहेको आरोप लगाए।
'०७४–०७५ मा हामीले पार्टीलाई एक बलियो र लगभग दुई-तिहाइ बहुमत भएको शक्तिमा पुर्यायौँ,' ओलीले भने, 'तर, केही स्वार्थी र आत्म केन्द्रित तत्त्वहरू पार्टीभित्रै सक्रिय भए। उनीहरूलाई बाह्य शक्तिले उचाल्यो र अन्ततः पार्टीभित्र अन्तर्विरोध सिर्जना भयो।'
ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै उनले अरूका लागि काम गरेर पार्टीभित्र द्वन्द्व सिर्जना गरेको आरोप लगाए। उनले संसद्मा अरू तत्त्वहरूसँग मिलेर सरकार ढाल्ने प्रयास भएको र त्यसैका कारण एमालेले रणनीतिक रूपमा कडा निर्णय लिनुपरेको बताए।
उनले भने, 'अदालत र संसद्मार्फत पार्टीमा प्रहार भयो। हामीले जोगाउन विशेष कदम चाल्यौँ। जहाँबाट मलाई तीन वर्षअघि निकालिएको थियो, आज फेरि त्यहीँ, सरकारको नेतृत्वमा, हैसियतका साथ छु।'
ओलीले अहिले एमाले सशक्त रूपमा अगाडि बढिरहेको र सरकारमा रहेको अवस्थालाई ‘सहज परिस्थिति नभए पनि उपलब्धिपूर्ण’ बताएका छन्। उनले अन्त्यमा स्पष्ट गरे, 'हामीले नेकपाको एकीकरण मनसायले ग-यौँ, तर उनीहरू विघटनको मनसाय लिएर आएका रहेछन्। त्यसैले हामीले पार्टी बचायौँ।'
