परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट

जेष्ठ ३, २०८२

कान्तिपुर संवाददाता

Meeting of the Deputy Foreign Minister of Japan with the Minister of Foreign Affairs

काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

त्यस अवसरमा मन्त्री राणाले उपविदेशमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकोमा धन्यवाद व्यक्त गरेकी थिइन् । साथै मन्त्री राणाले सिन्धुली–बर्दिवास सडकको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद ज्ञापन गरेकी निजी सचिवालयले जनाएको छ ।

गत वर्षको अविरल वर्षाका कारण सो सडकमा ठूलो क्षति पुगेको थियो। जापान सरकारको अनुदानमा निर्मित सो सडकको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्न लागेको हो।

मन्त्री डा. राणा र जापानी उपविदेशमन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। मन्त्री राणाले नेपालको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्‍याउँदै आएको सहयोगका लागि पनि धन्यवाद व्यक्त गरेकी थिइन्।

मन्त्री राणाले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यबद्धता जनाउन र सहयोग गर्न जापानसँग आग्रह पनि गरेकी थिइन्।

कान्तिपुर संवाददाता

Link copied successfully