जलवायु मुद्दामा राज्यले दबाब बढाउनुपर्ने आरोहीको माग

सगरमाथा आधार शिविर पुगेका गृहमन्त्री, पर्यटनमन्त्रीसामु मागपत्र पेस

जेष्ठ ३, २०८२

भानुभक्त निरौला

Arohi's demand that the state should increase pressure on the climate issue

सोलुखुम्बु — आरोही, आइसफल डाक्टर र पर्यटन व्यवसायीले पग्लँदो हिमाललाई साँची राखेर हिमाल जोगाउन राज्यसँग माग गरेका छन् । आरोही कामिरिता शेर्पाको अगुवाइमा अरोहीहरुले गृहमन्त्री रमेश लेखकमार्फत प्रधानमन्त्रीलाई समसामयिक विषयमा माग पत्र पेस गरे । 

राजधानीमा सगरमाथा संवाद चलिहरँदा सगरमाथा आधार शिविरमै पुगेका गृहमन्त्री लेखक, पर्यटनमन्त्री बद्री पाण्डे, राज्यमन्त्री अरुण चौधरीलगायतसामु मागपत्र बुझाइएको हो ।

आरोहीहरुले आधारशिविरमा स्वास्थ्य, संचारको पूर्वाधार निर्माणमा राज्यको ध्यान जानुपर्ने भन्दै हिमाली क्षेत्रमा सगरमाथा पर्यटन प्राधिकरण स्थापनाको माग गरेका छन् । पर्यटन व्यवसायी तथा पिक प्रमोसनका डाइरेक्टर बाबु शेर्पाले आरोहीहरुको तर्फबाट गृहमन्त्रीलाई मागपत्र हस्तान्तरण गरे । पर्यटन व्यवसायी दावा स्टेभेन शेर्पाले हिमाली क्षेत्रमा राज्यको उपस्थिति न्यून भएको भन्दै आरोहणका लागि आइसफलमा बाटो बनाउन बर्सेनि अनुमति माग्दा झन्झट हुने भन्दै ५ वर्षका लागि अनुमति दिनुपर्ने बताए ।

आरोही तथा सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाले बेसक्याम्पसम्म हेलिकोप्टर संचालनको सहज रुपमा अनुमति दिनुपर्ने भनाइ राखे । अरोहीहरुले हिमालमा अक्सिजन लान हेलिकोप्टर प्रयोग गर्न दिनुपर्ने माग पनि उनले राखेका छन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले खुम्बु क्षेत्रमा हेलिकोप्टर उडानमा भएको समस्याको दिगो समाधानका लागि संघीय सरकार लाग्नुपर्नेमा जोड दिए ।

पर्यटनमन्त्री पाण्डेले सगरमाथा क्षेत्रका सबै समस्याको समाधानका लागि सरकार गम्भीर ढंगले लाग्ने र पर्यटन ऐन पनि संसद्‍मा पेस भइसकेको जानकारी गराए । मे २९ का दिन हुने अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रधानमन्त्रीकै उपस्थितिमा आरोहीहरुको माग सम्बोधन गरिने उनले प्रतिबद्धता जनाएका छन् ।

गृहमन्त्री लेखकले आरोहीहरुले संसारमा नेपाललाई चिनाउने काम गरेको भन्दै संसारको गौरव सगरमाथा क्षेत्रमा शान्ति सुरक्षाको कुनै कमी हुन नदिने बताए । खुम्बु क्षेत्रमा निर्बाध हेलिकोप्टर उड्ने व्यवस्था गर्ने उनको भनाइ थियो ।

केही दिनदेखि सगरमाथा आधारशिविरमा रहेका का‌ंग्रेस महामन्त्री विश्वप्रकास शर्माले हिमाली भेगको समस्या र आरोहीका मागलाई वर्तमान सरकारले गम्भीरतापूर्वक लिन आग्रह गरे । उनले हिमालमा जलवायु परिवर्तनको असरका कारण कालापत्थरमा परिणत भएको भन्दै सगरमाथा संवादमार्फत अन्तर्राष्ट्रिय समुदायलाई झकझकाउनुपर्नेमा जोड दिए । 

भानुभक्त

Link copied successfully