डेढ वर्षपछि सुल्झियो माओवादी सुदूरपश्चिम संसदीय दलको झमेला

बैतडीबाट माओवादीको मध्यपहाडी लोकमार्ग अभियान

जेष्ठ ३, २०८२

अर्जुन शाह

After a year and a half, the problem of the Maoist Far West Parliamentary Party was resolved

धनगढी — सुदूरपश्चिम संसदीय दलको नेता चयनलाई लिएर माओवादी केन्द्रमा डेढ वर्षदेखि कायम विवाद सुल्झिएको छ। प्रदेश संसदीय दलको बिहीबार राति डडेलधुरामा सम्पन्न बैठकपछि खगराज भट्ट दलको नेतामा पुनःस्थापित भएका हुन्।

अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र नन्दकिशोर पुन, महासचिव गुरुङलगायतका नेताको उपस्थितिमा बसेको संसदीय दलको बैठकले करिब १६ महिनापछि भट्टलाई पुनःस्थापित गरेको हो ।

माओवादीका बहुमत सांसदले डेढ वर्षअघि संसदीय दलको बैठकबाट दलका नेताबाट भट्टलाई हटाएका थिए । ०८० माघ १२ गते बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाएर मानबहादुर धामीलाई नेता चयन गरेका थिए । सभामुखबाहेक १० जना सांसद रहेको सुदूरपश्चिम माओवादीका सांसदहरू मानबहादुर धामी, अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । त्यसयता भट्ट संसदीय र पार्टी गतिविधिमा लगभग निष्क्रिय रहँदै आएका थिए ।

भट्टले आफूमाथि अन्याय भएको गुनासो पटक–पटक पार्टीको केन्द्रसमक्ष गरिरहे । अध्यक्ष दाहाल र महासचिव देव गुरुङले पनि भट्टलाई संसदीय दलको नेतामा पुनःस्थापित गर्न पटक–पटक लिखित र मौखिक निर्देशन पनि दिए । बहुमत सांसदहरूले नमान्दा अध्यक्ष दाहालकै निर्देशनसमेत कार्यान्वयन भएको थिएन ।

०८१ असारमै अध्यक्ष दाहालले सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेर भट्टलाई नै दलको नेतामा पुनःस्थापित गर्न निर्देशन गरेका थिए । त्यसपछि पनि दाहालले लिखित र मौखिक गरी पाँच पटक भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । तर, बहुमत सांसदहरू टसको मस भएनन् । दुई समूहमा विभक्त भएका सुदूरपश्चिमका माओवादी सांसदले अध्यक्ष र महासचिवको लिखित निर्देशनलाई पनि अटेर गरे । त्यही कारण प्रमुख प्रतिपक्षी दल भएर पनि प्रदेशसभामा माओवादीको भूमिका प्रभावकारी हुन सकेन ।

प्रदेश सांसदहरूका अनुसार अध्यक्षसहित वरिष्ठ नेताहरू उपस्थित बिहीबारको बैठकमा पनि सांसदहरू भट्टलाई दलको नेता मान्न सहमत थिएनन् । तर अध्यक्ष दाहालले कडाइका साथ निर्देशन गरेपछि सांसदहरू मञ्जुर भएका हुन् । भट्टको विपक्षमा रहेका सांसद ओमविक्रम भाटले पार्टी अध्यक्षको निर्देशन कार्यान्वयन गरिएको बताए । असहमति जनाइरहेका सांसदहरूले भट्टको कार्यशैलीप्रति गुनासो गरेका थिए । एक सांसदले भने, ‘कार्यशैली सुधार्नु भएन भने फेरि हटाउँछौं ।’

बैतडीबाट माओवादीको मध्यपहाडी लोकमार्ग अभियान

माओवादी केन्द्रले शुक्रबार बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको छ । पाटनमा आयोजित कार्यक्रममा अभियानको सुरुआत गर्दै अध्यक्ष दाहालले सरकार गलत दिशातिर गएको आरोप लगाए । राष्ट्र बैंकको गभर्नर नियुक्तिका नाममा पनि अनेक चलखेल भइरहेको दाबी गर्दै उनले सरकार भ्रष्टाचार संरक्षणमा केन्द्रित रहेको आरोप लगाए ।

‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो, तर, अनेक खालका चलखेल र प्रपञ्च भइरहेका छन्,’ उनले भने । अभियानका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपाध्यक्ष सापकोटा, पम्फा भुसाल, महासचिव गुरुङलगायत प्रदेश तहका नेता–कार्यकर्ता पाटन पुगेका थिए । पाटनबाट सुरु भएको अभियान सोलुखुम्बु पुगेर समापन हुने माओवादी केन्द्रले जनाएको छ । ‘जेठ महिनाभर सञ्चालन हुने कार्यक्रम छ । तर बजेटका कारण जेठ १० गते पोखरामा पुगेर केही दिनका लागि स्थगित हुनेछ,’ अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताए ।

डडेलधुराबाट देउवालाई फोन

पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान सुरु गर्ने क्रममा बिहीबार डडेलधुरा पुगेका दाहालले शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् । ‘डडेलधुरा पुगेका बेला शिष्टाचार टेलिफोन गर्नुभएको हो,’ आचार्यले भने, ‘अध्यक्षले कांग्रेस सभापतिलाई तपाईंको जिल्ला आइपुगेको छु भनेर शिष्टाचार प्रकट गर्नुभएको हो । सभापति देउवाले पनि मेरो जिल्लामा स्वागत छ भन्नुभयो ।’

स्वकीय सचिव आचार्यका अनुसार उनीहरू बीच राजनीतिक सन्दर्भमा भने कुराकानी भएन । यसअघि पार्टी अभियान सञ्चालनका क्रममा डडेलधुरा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कांग्रेस सभापति देउवालाई टेलिफोन संवाद गरेका थिए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully