काठमाडौँ — विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नबाट रोक्न माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्ध दायर रिट निवेदन दरपीठ गरिदिएको हो ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार तीन कारण उल्लेख गर्दै पौडेलविरुद्धको रिट दरपीठको निर्णय गरिएको छ ।
'विपक्षीले कुन कारणले सामुहिक हक अधिकारको हनन भएको भन्ने रिट निवेदनमा खुलाउन नसकेको देखायो । विपक्षीलाई गभर्नर सिफारिस समितिले गभर्नर पदमा सिफारिस गरेको अवस्था नदेखिएको र अनिश्चित विषयमा निवेदन दर्ताका लागि निवेदन पेस भएकाले दरपीठको आदेश भएको छ,' पाण्डेले भने ।
पौडेललाई गभर्नर नियुक्त गर्न लागिएको दाबी गर्दै अधिवक्ताद्वय विशाल थापा र प्रतीभा उप्रेतीले रिट पेस गरेका थिए । उनीहरूले गभर्नर हुनका लागि पौडेलको योग्यता नपुग्ने पनि दाबी गरेका थिए ।
