संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था समितिबाट पारित

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

The Federal Civil Service Bill was passed by the State Arrangements Committee

काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ। समितिको शुक्रबारको बैठकले विधेयकलाई पारित गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए । 

विधेयकमा विवादित विषय रहेका कुलिङ पिरियड र अवकाश उमेर ५८ बाट ६० बनाउँदा लागु गर्ने विधि विवादमा थिए।

यी विषयमा कुलिङ पिरियड २ वर्ष राख्ने र अवकाश उमेर ५८ बाट ६० पुर्‍याउँदा १-१ वर्ष गर्ने गरी लागू गरिएको हो । विधेयकको प्रतिवेदन अन्तिम रूप दिन भने बाँकी रहेको सभापति खतिवडाले जानकारी दिए ।

अन्तिम समयमा जुटेका सहमतिका विषय प्रतिवेदनमा समेट्नका लागि आन्तरिक बैठक बस्ने बताइएको छ।विधेयकका विवादित विषयमा छलफल गर्नका लागि सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको थियो ।

उपसमितिले गोप्य बैठक राखेर दफावार छलफल समेत गरेको थियो। उपसमितिको प्रतिवेदन समितिमा पेस भएपछि विधेयकका विवादित विषयमा मात्रै छलफल भएको थियो।

कान्तिपुर

Link copied successfully