कांग्रेस सभापति देउवा र माओवादी उपमहासचिव शर्माबीच भेटवार्ता

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Meeting between Congress President Deuba and Maoist Deputy General Secretary Sharma

काठमाडौँ — माओवादी उपमहासचिव जनार्दन शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ता गरेका छन् । मध्यपहाडी राजमार्ग अभियानमा डडेलधुरा पुगेका अध्यक्ष पुष्पकमल दाहालले देउवासँग टेलिफोन वार्ता गरेलगत्तै शर्मा देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

शर्माले देउवासँग ‘समसामयिक राजनीतिक’ विषयमा कुरा भएको बताए । ‘समसामयिक राजनीतिक विषयमा कुराकानी भयो,’ नयाँ गठबन्धनको केही चर्चा भएको हो ? भन्ने प्रश्नमा उनले भने, देउवाजीसँग समसामयिक राजनीतिक कुराकानी भएको हो । अरु त्यस्तो केही छैन ।’ 

गत आम निर्वाचनलगत्तै एमाले-माओवादी गठबन्धन सरकार बनेको दुई महिनापछि २०८० फागुनमा कांग्रेस–माओवादी गठबन्धन सरकार बनेको थियो । त्यो गठबन्धनका एक सुत्राधारमध्ये एक शर्मा थिए । कतिपयले उनको देउवासँगको भेटलाई अर्थपूर्ण रुपमा लिएका छन् । 

दुई नेताबीच भएको टेलिफोन संवादमा देउवाले गृह जिल्लामा पुगेको स्वागत भन्दै राजनीतिक अभियानको सफलताको कामना गरेका थिए । दाहालले काठमाडौंको हालखबरबारे जानकारी लिएका थिए । 

‘सरकार बनाउने, ढाल्नेतिर ध्यान छैन । सरकार गलत दिशातिर हिँडेको छ । हामीले सुरु गरेको सुशासनका कामहरु भत्काउनतिर लागेको छ । उल्टो बाटो हिँडेको छ । चिन्तित छौं । सरकार ढाल्ने खेलमा छैनौं,’ दाहालले भने, ‘देउवाजीसँग सम्पर्क भयो । मेरो जिल्लामा स्वागत छ भन्नु भएको छ ।’

कान्तिपुर

Link copied successfully