काठमाडौँ — संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ।
शुक्रबार सिंहदरबारमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उक्त विधेयक पारित गरिएको हो।
समितिका सभापति रामहरि खतिवडाले विधेयक परिमार्जनसहित सर्वसम्मत पारित भएको जानकारी दिँदै धेरै समयपछि उक्त महत्त्वपूर्ण विधेयक पारित गर्न सफल भएको बताए। उनले विधेयक पारित गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।
उनले भने, 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन परिमार्जनसहित सर्वसम्मत पारित भएको छ। सबैलाई धेरै धेरै धन्यवाद छ। यो धेरै महत्त्वपूर्ण विधेयक थियो। हामी धेरै समयपछि पारित गर्न सफल भएका छौँ।'
विधेयकमा कुलिङ पिरियड दुई वर्ष राखिएको छ भने निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष बनाइएको छ। अर्को सूचना जारी नहुँदासम्म समितिको बैठक स्थगित गरिएको छ।
