सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखिएको छ : अध्यक्ष दाहाल

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Far West region has always been given priority: President Dahal

डडेल्धुरा — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखिएको बताएका छन्।

प्रेस सेन्टर नेपाल, डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले डडेल्धुरामा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटनमैत्री नीति आवश्यक रहेकोमा जोड दिएका छन्।

उनले भने, 'डडेल्धुरा सम्भावनायुक्त जिल्ला हो, यहाँ विकासमा ध्यान दिन सकियो भने विकासको नमूना बन्न सक्छ।'

अध्यक्ष दाहालका अनुसार देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको छ। पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सञ्चालन गरिएको र अब पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी उनले दिए।

उनका अनुसार पहिलो चरणको जागरण अभियान झापाबाट सुरु भई, दोस्रो चरणको अभियान बैतडीबाट सुरु भई सोलुखुम्बुमा समापन गरिनेछ।

कान्तिपुर

Link copied successfully