काठमाडौँ — नेपाल सरकारले आयोजना गरेको प्रथम संस्करणको ‘सगरमाथा संवाद’ सुरु भएको छ। परराष्ट्र मन्त्री आरजु राणा देउवाले सगरमाथा संवादमा सहभागी सबैलाई स्वागत गर्दै धन्यवाद पेस गरिन्। काठमाडौँमा शुक्रबार (जेठ २) देखि सुरु भएको सगरमाथा संवाद आइतबारसम्म सञ्चालन हुनेछ।
जलवायु परिवर्तन, हिमाल र मानव भविष्यमा केन्द्रित हुने यस संवादमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत् छलफल हुने स्पष्ट पारिएको छ।
साथै जलवायु परिवर्तन कुनै एक देशको मात्र नभई विश्वव्यापी समस्या रहेकाले त्यसअनुसारको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने मन्त्री देउवाले उल्लेख गरिन्।
‘यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरू पर्याप्त छैनन्। त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लेटफर्म निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना गरेको हो,’ उनले भनिन्, ‘नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति बेहोर्दै आएको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ।’
