मन्त्री चयनमा रेशम र रञ्जिताबीच फेरि विवाद

सुदूरपश्चिममा रिक्त उद्योग मन्त्रालयमा आफ्ना पक्षधर सांसदलाई मन्त्री बनाउन नागरिक उन्मुक्तिका शीर्ष नेताबीच होडबाजी

जेष्ठ २, २०८२

अर्जुन शाह

Dispute again between Resham and Ranjita on the selection of ministers

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री सिफारिसको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच विवाद भएको छ ।

अध्यक्ष रञ्जिताले मंगलबार बेग्लाबेग्लै पत्र पठाएर सांसद कैलाश चौधरीलाई मन्त्री नियुक्त गर्न सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन र मुख्यमन्त्री कमलबहादुर शाहलाई सिफारिस गरेकी थिइन् । तर संरक्षक रेशमले संसदीय दलमार्फत रञ्जिताको निर्देशन कार्यान्वयनमा रोक लगाइदिएका हुन् । यसले दम्पतीसमेत रहेका रेशम र रञ्जिताबीचको शक्ति संघर्ष फेरि सतहमा आएको छ । 

यसअघि नागरिक उन्मुक्तिको भागमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको थियो । उद्योगमन्त्री रहेका लक्ष्मणकिशोर चौधरी आर्थिक लेनदेनको अडियो प्रकरणमा मुछिएपछि गत चैत १६ मा राजीनामा दिए । त्यसयता उक्त मन्त्रालयमा नागरिक उन्मुक्तिले नयाँ मन्त्री पठाउन सकेको छैन । करिब डेढ महिनापछि नयाँ मन्त्री पठाउने सन्दर्भ सुरु भए पनि पार्टीका शीर्ष नेतृत्वबीच विवाद भएको हो । 

सुदूरपश्चिम प्रदेशसभामा सात सांसद रहेको उन्मुक्तिको संसदीय दलमा रेशम पक्षधर सांसदको बहुमत छ । पाँच सांसद रेशम पक्षमा र रञ्जिताको पक्षमा एक सांसद कैलाश मात्र छन् । अर्की सांसद टीका थापाले पक्षधरता खुलाएकी छैनन् ।

संसदीय दलको बैठकपछि बुधबार रेशम पक्षधर रामेश्वर चौधरीलाई मन्त्रीका लागि सिफारिस गरिएको पत्र सार्वजनिक भएको छ । तर संसदीय दलका नेता घनश्याम चौधरीले छलफल जारी रहेको बताए । सांसदहरूका अनुसार रेशम घनश्याम वा रामेश्वरलाई मन्त्री पठाउने अडानमा थिए । घनश्याम दलको नेता र अर्थ समिति सभापति पनि रहेकाले रामेश्वरलाई नै मन्त्रीमा सिफारिस गर्ने पक्षमा उन्मुक्ति सांसद छन् । 

सांसद कैलाशले वैशाखमा धनगढीमा अध्यक्ष, पार्टी संरक्षक रेशमसहित संघीय सांसद, प्रदेश सांसदसहित बसेको बैठकले मन्त्री चयनको जिम्मेवारी अध्यक्ष रञ्जितालाई दिने लिखित निर्णय गरेअनुसार आफ्नो नाम सिफारिस भएको बताए ।

‘अहिले अध्यक्षको निर्देशन मान्दैनौं भन्ने हो भने त के कुरा गर्नु ?’ अध्यक्ष रञ्जिताले लुम्बिनी प्रदेशमा रेशम पक्षधर राजकुमार चौधरीलाई र सुदूरपश्चिममा आफूलाई मन्त्री सिफारिस गरेको पनि सांसद कैलाशको दाबी छ । गत वर्ष चौधरी दम्पतीबीचको यस्तै टकरावका कारण नागरिक उन्मुक्तिलाई आएको मुख्यमन्त्रीको पदसमेत गुमेको थियो ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully