जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको रहेन : परराष्ट्रमन्त्री राणा

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Climate change is no longer specific to any region or country: Foreign Minister Rana

काठमाडौँ — परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको मात्र नभएको बताएकी छिन्।

शुक्रबारदेखि काठमाडौँमा सुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै मन्त्री राणाले जलवायु परिवर्तनको मुद्दा अहिले विश्वव्यापी समस्या बनेको र यसले सिंगो मानवतालाई संकटमा पारेको उल्लेख गरिन्। विश्वव्यापी संकटसँग जुध्नका लागि कुनै पनि देशको एक्लो प्रयास पर्याप्त नहुने भन्दै उनले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन्।

मन्त्री राणाले जलवायु परिवर्तनका समस्याहरूको पहिचान र समाधानका लागि विश्वस्तरीय साझा प्रयास जरुरी रहेको बताउँदै नेपाल र विश्वको वातावरण हाल जोखिममा रहेको धारणा व्यक्त गरिन्। इमान्दार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्य नै संकटमा पार्न सक्ने चेतावनी पनि दिइन्।

उनका अनुसार नेपालले पछिल्ला वर्षहरूमा विनाशकारी तथा श्रृंखलाबद्ध गम्भीर मौसमी समस्याहरू भोगिरहेको छ। बाढी, हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठूलो क्षति पुर्‍याएको उनले जानकारी दिइन्। — न्युज एजेन्सी नेपाल

कान्तिपुर

Link copied successfully