बाह्रविसेका नगर प्रमुख बस्नेतले अख्तियार कर्मचारीलाई काज फिर्ता गर्न भन्दै कानुन विपरीत पत्र काटे

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Basnet, the head of the city of Barhavise, sent a letter against the law to the authority employees asking them to return their work

काठमाडौँ — बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत एक कर्मचारीलाई कानुन विपरीत काज फिर्ता गराउन पत्र काटेका छन्। नगर प्रमुख बस्नेतले अख्तियारमा कार्यरत पाँचौँ तहकी कर्मचारी अम्बिका दाहाल ओझालाई तत्काल काज फिर्ता गर्न मागसहित बिहीबार अख्तियारलाई पत्र पठाएका हुन्।

कर्मचारी सरुवा, बढुवा वा फिर्ताका लागि यसरी पत्र पठाउँदा सम्बन्धित कार्यालयका कर्मचारी तहबाट पत्रको आदानप्रदान हुनुपर्नेमा नगर प्रमुख बस्नेतले सिधै आफैंले हस्ताक्षर गरेको पत्र पठाएर काज फिर्ता गर्न भनेका हुन्।

नगर प्रमुख बस्नेतले यस विषयमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नगरपालिकाको आर्थिक प्रशासन शाखालाई जानकारी गराएका छन्। उनी काज फिर्ता माग गरिएकी नासु दाहाललाई एक वर्षमा तीन महिना भन्दा बढी काजमा बस्न नपाउने कानुनको दायरामा पर्ने भन्दै तत्काल फिर्ता गर्न भनेका छन्।

‘यो पत्र मेयर बस्नेतको अधिकार क्षेत्र बाहिर रहेको पाइएको छ,’ अख्तियार स्रोतले बताए।

कांग्रेसका सांसद मोहन बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार टेरामक्सका उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएको केही समयमै मेयर बस्नेतले उक्त पत्र पठाएको खुलेको छ। मोहन बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। मुद्दा दायर भएसँगै उनी सांसद पदबाट निलम्बित भएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully