काठमाडौँ — नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर निलम ढुंगानाले नेपाली अर्थतन्त्र अहिलेको प्रमुख आवश्यकता उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नु रहेको बताएकी छन् ।
नेपाल बिमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ढुंगानाले यसका लागि बैंकिङ र बिमा क्षेत्रले एकआपसमा सहकार्य गर्दै उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गर्दै जानुपर्ने बताएकी हुन् ।
लगानी र उद्यमशीलताको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य देखिएको पनि ढुंगानाको भनाइ थियो । बिमा क्षेत्रको विकासमा प्रविधिको भूमिका धेरै प्रभावकारी हुने भएकाले नेपाली बिमा कम्पनीहरूमा डिजिटल प्लेटफर्म, मोबाइल एप, आर्टिफिसल इन्टेलिजेन्स जस्ता प्रविधिहरूको माध्यमबाट बिमा दाबी प्रक्रिया, प्रिमयम संकलन, ग्राहक सेवा तथा जोखिम मूल्यांकन जस्ता कार्य अझ प्रभावकारी हुने उनले बताइन् ।
कामुकायम गभर्नर ढुंगानाले भनिन्, ‘बिमा क्षेत्रको विकासमा प्रविधिको भुमिका अत्यन्तै प्रभावकारी हुन्छ । नेपाली बिमा कम्पनीले डिजिटल प्लेटफर्म, मोबाइल एप, आर्टिफिसल इन्टेलिजेन्स जस्ता प्रविधि प्रयोगमा ल्याउनुपर्छ । सोको माध्यमबाट बिमा दाबी प्रक्रिया, प्रिमयम संकलन, ग्राहक सेवा तथा जोखिम मूल्यांकन जस्ता कार्यहरू अझ प्रभावकारी हुनेछ । जसबाट बिमा व्यवसायले प्रवाह गर्ने सेवालाई गुणस्तरीय, छिटो पारदर्शी, सुलभ एवंम विश्वासशिलो बनाउन सकिनेछ ।’
ढुंगानाले नियमनकारी निकायको हैसियतले पनि बिमा प्राणिकरणले बिमा सम्बन्धि सुरक्षाका मामिलामा अझ बढी ध्यान दिनुपर्ने बताइन् । उनकाअनुसार बिमा प्राधिकरणले बिमा दाबी भुक्तानी समयमै मिलाउने व्यवस्था सुनिश्चित गर्नसक्नुपर्छ । त्यसो गर्नसके बिमाप्रति जनताको विश्वास बढेर जाने उनले बताइन् ।
जनताले दुर्घटना, प्रकृतिक विपत्जस्ता संकटको बेला समयमै दाबी भुक्तानी पाएमा सकारात्मक सन्देश प्रवाह हुने र अरुलाई पनि बिमा गर्न प्रोत्साहन मिल्ने ढुंगानाको भनाइ छ । नेपालमा बिमा व्यवसाय तथा यसले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन बिमा शिक्षा, बिमा व्यवसाय प्रबर्धन तथा बीमितको हकहितको संरक्षणसम्बन्धि कार्यमा थप जोड दिन जरुरी रहेको उनले बताइन् ।
ढुंगानाकाअनुसार बिमालाई हरेक आर्थिक क्रियाकलापको अभिन्न अंगका रुपमा अघि बढाउनुपर्ने अहिलेको आवश्यकता छ ।
