कृषि र खाद्य प्रणाली रूपान्तरणका लागि पानीको महत्त्व उच्च छ : ऊर्जामन्त्री खड्का

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

The importance of water for transformation of agriculture and food system is high: Energy Minister Khadka

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषि र खाद्य प्रणाली रूपान्तरणका लागि पानीको महत्त्व उच्च रहेको बताएका छन् । जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था र इन्जिनियरिङ अध्ययन सस्थानद्वारा संयुक्त रूपमा काठमाडौंमा आयोजित ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’  सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

ऊर्जामन्त्री खड्काले कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न पानीको महत्व उच्च भएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिता दिएको बताए । उनले मुलुकको ४० प्रतिशत किसानलाई मात्र पानी पर्याप्त रहको उनको भनाइ छ । सबै किसानलाई पानी पुग्ने वातावरण बनाउनु पर्ने उनले सुनाए ।

सम्मेलनमा सिँचाइ सचिव सरिता दवाडीले राष्ट्रिय विकासको आधार कृषि भएकाले यस क्षेत्रको विकासका लागि पानीको सही सदुपयोग हुनुपर्ने बताइन् । कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले  भूमिगत पानी पुर्नभरणमा समस्या रहेको बताए । 'तराई क्षेत्रमा स्यालो ट्युबवेल र डिप ट्युबवेलामा पानीको समस्या छ, भूमिगत पानी कम छ,' उनले भने, 'तराई क्षेत्रमा भुमिगत पानी पुर्नभरणको समस्या छ ।'

सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले सम्मेलनमा सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व र जलस्रोतको प्रभावकारी उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्नेबारे आवश्यक छलफल हुने बताए ।

विभागका उपमहानिर्देशक मित्र बरालले सम्मेलनमा पानी, कृषि उत्पादन र खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि छलफल गरी नेपाल सरकारको कृषि र सिँचाइ रणनीति तथा दिगो विकास लक्ष्य १, २ र ६ सँग समन्वयमा कार्यदिशा तय गर्ने जानकारी दिए ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले ‘कृषिसँगै आर्थिक वृद्धिमा गुमेका अवसरहरू : क्षेत्रगत एकीकरणका लागि विचार र समायोजन दृष्टिकोण’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।

इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्कोले आर्चिएरीले ‘कृषि–सिँचाइ एकीकरणका चुनौती र अवसर’  र इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा मार्क स्मिथले ‘अनुसन्धानद्वारा एकीकृत सिँचाइ र कृषिमा सुधार’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।

सम्मेलनमा पूर्व सिंचाई सचिव तथा लोक सेवा आयोगका सदस्य माधव बेल्वासेले परम्परागत रूपमा बनेको कुलोले अब सिंचाइको काम नगर्ने बताए । उनले वार्षिक १० लाख क्युबिक मिटर भुमिगत पानी पुर्नभरण गर्ने क्षमता रहेपनि २० प्रतिशत मात्रै  पुनर्भरण भइरहेको जनाए । 

कान्तिपुर

Link copied successfully