काठमाडौँ — उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयमा ठेकेदारले हल्का रूपले लिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
निर्माणाधीन संघीय संसद् भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री सिंहले समयमा नसकिए म्याद थप भइहाल्छ नि भन्दै ठेकेदारले हल्का रूपमा लिएको बताए ।
संसद् भवन निर्माणको ८६ प्रतिशत भौतिक प्रगति भएको बताउँदै उपप्रधानमन्त्री सिंहले त्यसलाई शतप्रतिशत बनाउन मन्त्रालय गम्भीर रहेको बताए ।
'संसद् भवन निर्माण सुरु भयो, ठेक्कामा गयो । पटक-पटक म्याद थप गरियो । ८६ प्रतिशत फिजिकल प्रगति भयो भनेर आएको छ । ८६ लाई १०० मा पुर्याउन हामीले अहिले कानुनले दिएका प्रावधानहरू के के छन् ? कामलाई तीव्रता दिन के-के विधि प्रयोग गर्न सकिन्छ,' उनले भने, 'जरिवाना नै तिराउने हो कि ! ठेकेदारले हल्का रूपमा लिइरहेका छन्, म्याद थप भइहाल्छ नि के गर्छन् र यिनीहरूले भन्ने खालको । कन्ट्रयाक्टरलाई अलि जिम्मेवार बनाउन गर्नुपर्ने कामहरूमा के गर्दा खेरी हुन्छ भन्ने कुरामा समितिबाट सुझाव लिन्छौँ ।'
ठेकेदारलाई अन्तिम पटक म्याद थप गर्ने बारेमा छलफल भइरहेको पनि सिंहले बताए । ठेकेदार जिम्मेवार नभए कानुनी प्रावधानअनुसार अगाडी बढ्ने कुरामा हिचकिचाहट नगर्ने उनको भनाइ थियो ।
