सगरमाथा संवाद : यस्ता छन् तीन दिने कार्यसूची 

जेष्ठ १, २०८२

नुमा थाम्सुहाङ

Everest Dialogue: These are the three days agenda

काठमाडौँ — नेपाल सरकारले आयोजना गर्न लागेको पहिलो संस्करणको ‘सगरमाथा संवाद-२०२५’ काठमाडौंमा शुक्रबारदेखि सुरु हुँदैछ । सरकारले स्थापना गरेको बहु–सरोकारवाला (मल्टि–स्टेकहोल्डर) फोरम ‘सगरमाथा संवाद’ मा १७५ जना विदेशी पाहुनाले सहभागिता जनाउँदैछन् ।

तीन दिनसम्म चल्ने सगरमाथा संवादमा कूल ३५० जना विदेशी र स्वदेशी सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । संवादमार्फत नेपालले विश्वका महत्वपूर्ण मुद्दाहरू, क्षेत्रीय र राष्ट्रिय महत्व/स्वार्थका विषयहरू उठाउने र त्यसमाथि गहन छलफल गर्ने लक्ष्य लिइएको छ ।

विश्वकै अग्लो शिखर जुन नेपालमा छ, यसैको नाम ‘सगरमाथा’ बाट यस डायलग फोरमको नाम राखिएको हो । पहिलो संस्करणमा नेपालले ‘क्लाइमेट चेन्ज, माउन्टेन एन्ड फ्युचर अफ ह्युमनिटी’ अर्थात् ‘जलवायु प रिवर्तन, पर्वतहरू र मानव भविष्य’ भन्ने मुख्य विषयमा बृहत् छलफल गर्दैछ । सगरमाथा संवादमा ५ वटा थिममा विभिन्न १३ वटा सेसनहरू सञ्चालन हुनेछन् । 

पहिलो दिन के हुन्छ ?

कार्यक्रमको पहिलो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । स्वागत मन्तव्य परराष्ट्रमन्त्री आरजु राणा देउवाले राख्नेछिन् । यसैगरी चीन तथा भारतका प्रतिनिधिमण्डलका नेतृत्व र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिले कार्यक्रमलाई सम्बोधन गर्नेछन् । संयुक्त राष्ट्र संघका महासचिवले भिडियो सन्देशमार्फत कार्यक्रमलाई सम्बोधन गर्नेछन् । 

उद्घाटनपछि तालिकाअनुसार सेसनहरू सञ्चालन हुनेछन् । तीन दिन नै सञ्चालन हुने छलफलमा मुख्य वक्ता र वक्ता रहने सहजीकरण गर्ने एक जना सहजकर्ता हुनेछन् । 

पहिलो दिन थिम १ : पवर्तभन्दा पर : पवर्तलाई समुद्रसँग जोड्दै (बियोन्ड माउन्टेन्स : लिंकिङ माउन्टेन्स टु ओसन) भन्ने थिममा चार वटा प्यारलल् सेसनहरू सञ्चालन हुनेछन् । 

प्यारलल् सेसन १ : हिमनदी संरक्षणका लागि १.५ डिग्री लक्ष्यको आवश्यकता (अर्जेन्सी अफ १.५ डिग्री एम्बिसन फर प्रिजर्भेसन अफ ग्लेसियर्स), प्यारलल् सेसन २ :  पवर्तलाई टापुहरूसँग जोड्दै (कनेक्टिङ हाइल्यान्ड्स टु आईल्यान्ड्स), प्यारलल् सेसन ३ : खाद्य सुरक्षा र जलवायु प्रतिरोधी कृषि (फुड सेक्युरिटी एन्ड क्लाइमेट चेन्ज रेसिलेन्ट एग्रिकल्चर) र प्यारलल् सेसन ४ : पर्वतीय क्षेत्रमा समुदाय नेतृत्वमा आधारित जलवायु पहलहरू (कम्युनिटी–लिड क्लाइमेट इनिसिएटिभ्स इन द माउन्टेन्स्) मा छलफल हुनेछन् । 

दोस्रो दिन के हुन्छ ?

कार्यक्रमको दोस्रो दिन शनिबार (जेठ ३ गते) चार वटा थिममा सात वटा प्यारलल् सेसन हुनेछन् । थिम २ : हरित अर्थतन्त्र (ग्रीन इकोनोमी), थिम ३ : हानि नोक्सानीबाट बच्ने, न्यूनीकरण गर्ने र सम्बोधन गर्ने (एभर्टिङ, मिनिमाइजिङ एन्ड एड्रेसिङ लस एन्ड ड्यामेज) र थिम ४ : जलवायु न्याय र मावन भविष्य (क्लाइमेट जस्टिस एन्ड द फ्युचर अफ हुमनिटी) भन्ने विषयमा छलफल हुनेछ । 

थिम ५ : विश्वव्यापी तथा क्षेत्रीय साझेदारी (ग्लोबल एन्ड रिजनल पार्टनरसिप) मा मल्टि–स्टेकहोल्डर राउन्ड टेबल (छलफल) हुनेछ । यसमा पारिस्थितिक प्रणाली सेवाहरूः पहिचान, सम्मान र पुरस्कृत (इकोसिस्टम सर्भिसेस : रिककनाइज, रेस्पेक्ट एन्ड रिवार्ड), जलवायु प्रेरित प्रकोपहरूः जोखिम न्यूनीकरण र लचिलोपन(क्लाइमेट इन्ड्युस्ड डिजास्टर : रिस्क रिडक्सन एन्ड रेसिलेन्स) र नवीन जलवायु र कार्बन वित्तपोषण (इनोभेसन क्लाइमेट एन्ड कार्बन फाइनान्सिङ) विषयमा छलफल हुनेछ ।

यसैगरी प्यारलल् सेसन ५ : भविष्यलाई सशक्त बनाउँदै : स्वच्छ उर्जाको प्रयोग (पाउरिङ द फ्युचर : हार्नेसिङ क्लिन इनर्जी), प्यारलल् सेसन ६ : पहाडहरूमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण (एक्सप्लोरिङ नेचर, कल्चर एन्ड एडभेन्चर इन द माउन्टेन्स्), प्यारलल् सेसन ७ : हिमालका जोखिम मूल्यांकन र अनुगमन (माउन्टेन रिस्क असेसमेन्ट एन्ड मोनिटरिङ), प्यारलल् सेसन ८ : हानी तथा नोक्सानीको सम्बोधन (एडस्रेसिङ लस एन्ड ड्यामेज इन द माउन्टेन्स), प्यारलल् सेसन ९ : दिगो सहर र समुदाय (सस्टनेबल सिटिज एन्ड कम्युनिटिच), प्यारलल् सेसन १० : समावेशी भविष्य निर्माण : लैंगिक र अन्तरपुस्तागत समानता (बिल्डिङ एन इन्क्लुसिभ फ्युचर : जेन्डर एन्ड इन्टरजेनेरेसनल इक्विटी), प्यारलल् सेसन १२ : दिगो पर्वतीय अर्थतन्त्र (सस्टेनिङ माउन्टेन इकोनोमी) र प्यारलल सेसन १३ : विज्ञान, प्रविधि, र नवप्रवर्तनमा युवाको सम्भावना अनावरण (अनलकिङ युथ पोटेन्सियल इन साइन्स, टेक्नोलोजी एन्ड इनोभेसन) विषय रहेको छ । दोस्रो दिन नै उच्चस्तरीय सहकार्यका लागि मन्त्रीस्तरीय बैठक बस्ने कार्यक्रम रहेको छ । 

अन्तिम दिन ‘सगरमाथा संवाद-२०२५’ घाेषणा

सगरमाथा संवादको अन्तिम दिन ‘सगरमाथा संवाद २०२५’ घोषणा गर्ने कार्यक्रम छ । तर घोषणा सार्वजनिक गर्नुअघि आइतबार बिहान आमन्त्रित पाहुनाका लागि सगरमाथा हिमालको हवाई उडानमार्फत अवलोकन गराइने छ ।यसबाहेक प्रधानमन्त्री तथा समकक्षी मन्त्रीसँग शिष्टाचार भेट एवं वार्ता, साइटलाइन मिटिङको व्यवस्थासमेत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

नुमा थाम्सुहाङ थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully