डडेलधुरा — पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल डडेलधुरा पुगेका छन् । पार्टीले सुरु गर्न लागेको ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ उद्घाटन गर्न दाहाल डडेलधुरा पुगेका हुन् । शुक्रबार बैतडीको पाटनबाट सुरु हुने अभियानको उनले उद्घाटन गर्ने कार्यक्रम छ ।
बिहीबार साँझ डडेलधुरा पुगेका दाहालले सहिद भीमदत्त पन्तको सालिकमा माल्यार्पण गरे । राति डडेलधुरा सदरमुकाम बास बसेर भोलि बिहान पाटनको कार्यक्रममा सहभागी हुने डडेलधुरा जिल्ला कार्यसमितिका संयोजक उमेश भट्टले बताए ।
दाहालसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, जनार्दन शर्मा, फम्फा भुसाल, गिरीराजमणि पोख्रेल, खगराज भट्ट लगायतका नेता, कार्यकर्ता सहभागी रहेका छन् ।
शुक्रबार बिहान पाटनमा जनसभा र दिउँसो डडेलधुरामा जनसंवाद आयोजना गरेर बेलुकी डोटीमा जनसंवाद कार्यक्रममा दाहाल सहभागी हुनेछन् ।
पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पूर्व–पश्चिम हुलाकी मार्ग र मध्यपहाडी मार्गमा ‘जनतासँग माओवादी’ जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । यसअघि तराई–मधेस केन्द्रित पहिलो चरणको अभियान वैशाख १७ मा सम्पन्न भएको थियो ।
दोस्रो चरणको जागरण अभियान बैतडीको पाटनबाट सुरु भएर पूर्वको सोलुखुम्बुमा पुगेर टुंगिने माओवादीले जनाएको छ । अभियानमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट, जनसंवाद, जनता भेटघाट तथा अन्तरक्रिया, आमसभा लगायतका कार्यक्रम रहने छन् ।
