भूकम्पपछि बनाइएको आरआर कम्प्लेक्समा आगलागी, महर्जन परिवार थप पीडामा

जेष्ठ १, २०८२

विवेक पोख्रेल

Fire in the RR complex built after the earthquake, Maharjan family in more pain

काठमाडौँ — काठमाडौँको चन्द्रागिरि नगरपालिका–११, सतुंगलमा रहेको दुई तले व्यावसायिक भवनमा आगलागी हुँदा करोड बढीको क्षति भएको परिवारले बताएको छ ।

२०७२ सालको भूकम्पले पुरानो घर भत्किएपछि राजकुमार सिंह महर्जन र उनकी पत्नी गुनुमाया महर्जनले व्यावसायिक उद्देश्यले सोही ठाउँमा आरआर कम्प्लेक्स नाम दिइएर जस्तापाता र फलामको डन्डीबाट दुई तले घर बनाएका थिए ।

महर्जन परिवारका अनुसार भुइँतलामा १४ र माथिल्लो तलामा १४ गरेर २८ वटा व्यावसायिक सटरहरू आरआर कम्प्लेक्समा थिए । तीमध्ये ६ वटा सटरहरू खाली थिए । ‘दुई करोड बढीको त हाम्रो मात्र क्षति भएको छ । त्यहाँ सञ्चालनमा रहेका पसलहरूको क्षति कति भयो होला, मलाई जानकारी नै छैन,’ गुनुमाया महर्जनले भनिन्, ‘सरकारले केही गर्‍यो भने हो, नत्र त हामी डुब्यौँ । हाम्रो आम्दानीको स्रोत यो भवन बाहेक अरू केही छैन ।’ उनीहरूले कम्प्लेक्स बिमा गरेका थिएनन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार कम्प्लेक्सको भुइँतलामा रहेको कल्पना बुटिकबाट आज बिहान ५:२० बजे आगलागी हुँदा कम्पलेक्ससँगै रहेको कल्पना महर्जनको दुई तले घरमा समेत आगो सल्किएको थियो । जसबाट ज्ञानमति देवी गुप्ताको मिठाई पसल समेत जलेको थियो।

छ वटा दमकल परिचालन गरेर सो आगो साढे ७ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण संकलन भइरहेको पनि प्रहरीले बताएको छ । महर्जन परिवारले भने बुटिकमा आइरन अन नै भएको कारण आगलागी भएको आरोप लगाएको छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully