गभर्नरमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री ओली

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

A competent person is appointed as the governor: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नर पदमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुने बताएका छन्। 

पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो। तर सरकारमा म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु।'

गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलहरूकै बीचमा समेत विवाद छ। यसअघि गभर्नरका लागि गुणाकर भट्टको नाम सिफारिस भएको थियो भने पछिल्लो पटक विश्व पौडेलको चर्चा छ। भट्टका विषयमा मुद्दा परेपछि कांग्रेसले पौडेललाई अघि सारेको हो।

प्रधानमन्त्री ओली भने राष्ट्र बैंकका कायम मुकायम निलम ढुंगानालाई नै गभर्नर बनाउने गरी छलफल थालेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ। 

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरे। एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो। 

उनले पूर्व योजनाकारहरुको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना गरे। 

कान्तिपुर

Link copied successfully