पहिलो दिनमै सगरमाथा चुचुरोमा ४० आरोही

सगरमाथासहित २६ वटा हिमाल चढ्न ११९ आरोहण दलमार्फत नेपालसहित ५७ देशका २४० महिला र ८८७ पुरुषलाई अनुमति

जेष्ठ १, २०८२

सुरज कुँवर

40 climbers on the first day of Everest

काठमाडौँ — खराब मौसमको सामना गर्दै यो बर्षको पहिलो आरोहणमै बुधबार एकै दिन ४० जना स्वदेशी तथा विदेशी विश्वकै अग्लो हिमाल सगरमाथाको शिखरमा पुगेका छन् । जसमा २२ नेपालीसहित चिनियाँ, युक्रेनी, चेक रिपब्लिकन, अमेरिकी र जापानी आरोही छन् ।

 पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार तीनवटा फरक–फरक कम्पनीबाट गएका उनीहरू बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

यसपालिको आरोहण सिजनका लागि दोस्रो शिविरदेखि चुचुरोसम्म ऐटके एक्सपिडिसनमा कार्यरत ७ नेपाली माउन्टेन गाइडले डोरी टाँगेर बाटो बनाउने काम गत शुक्रबार नै सकेका थिए । डोरी टाँगिएपछि बुधबारबाट यो बर्षको व्यावसायिक आरोहण सुरु भएको खुम्बु क्षेत्रमा रहेका निर्देशक गौतमले कान्तिपुरलाई बताए ।

सगरमाथा चुचुरोमा पुग्नेमा ८ चिनियाँ, ६ युक्रेनी, २ चेक रिपब्लिकन, १ अमेरिकी र १ जापानी आरोही छन् । उनीहरूलाई मद्दत गर्ने २२ नेपाली गाइड तथा शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेको विभागले जनाएको छ । आइतबारसम्म सगरमाथासहित २६ वटा हिमाल आरोहणका लागि विभागले ११९ वटा आरोहण दललाई अनुमति जारी गरिसकेको छ, जसमा नेपालसहित ५७ देशका २४० महिला र ८८७ पुरुष छन् । 

यीमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ४५ वटा आरोहण दलले अनुमति पाएका छन्, जसमा ८४ महिला र ३७२ पुरुष छन् । सगरमाथासँगै रहेको ल्होत्से हिमाल आरोहणका लागि १०७ र नुप्से हिमाल आरोहणका लागि ७६ जनाले अनुमति पाएका छन् ।

यी तीनवटै हिमाल आरोहण गर्न अनुमति लिने र उनीहरूका सहयोगीसहित यतिबेला सगरमाथा आधार शिविरमा कम्तीमा एक हजार स्वदेशी/विदेशी रहेको विभागले जनाएको छ । विभागले सबै हिमाल आरोहण अनुमति जारी गर्दै ७७ करोड ३५ लाख रुपैयाँ दस्तुर संकलन गरेको छ ।

यसैबीच यस पटकको आरोहण सिजनमा तीन विदेशी आरोहीको मृत्यु भइसकेको छ भने २ नेपाली गाइड हराएका छन् । निर्देशक गौतमका अनुसार, हालसम्म कञ्चनजंघा, मकालु र आमादब्बलम हिमालमा तीन विदेशी आरोहीको मृत्यु भएको हो । अन्नपूर्ण हिमालमा दुई नेपाली शेर्पा हराइरहेका छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully