काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराइले राजनीतिक नेतृत्वले आफ्नै छोराछोरीलाई मुलुकमै बस्न सकिन्छ भन्ने सपना देखाउन नसकेको बताएका छन् ।
छोराछोरीलाई र युवा शक्तिलाई मुलकमै भविष्य देखाउन नसक्नेले प्रधानमन्त्री र मन्त्री हुनुको अर्थ नभएको बताए । उनले राजनीतिक नेतृत्वको सोचाइले नागरिकमा मुलुकमै केही हुँदैछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए ।
बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार संघीयताको कसीमा बजेटसम्बन्धी छलफलमा केन्द्रित रहेर आयोजना कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराइले राजनीतिकर्मीमा केन्द्रीय मानसिकता नहटेसम्म संघीय शासन प्रणाली बलियो हुन नसक्ने बताए । उनले यही अवस्थामा जति चिच्याए पनि संघीयता बलियो हुन नसक्ने बताए । वित्तीय संघीयतालाई बलियो बनाउन नेतृत्वको सोचाइमा परिवर्तन जरुरी रहेको भन्दै प्रदेश र स्थानीय तहसम्म स्रोतको बाँडफाँड सही हुनुपर्ने उनले बताए ।
राज्यका जातजाति र सबै वर्गको हित हुनेगरी संघीय शासन प्रणाली अघि बढ्नुपर्ने भन्दै उनले स्रोतलाई केन्द्रमा राखेर संघीयतालाई गाली गर्न नहुने बताए । प्रदेश र स्थानीय तहमा कामको बोझ धेरै भए पनि स्रोतमा भने बन्देज लगाएर त्यसको कार्यान्वयन हुन नसक्ने बताए ।
'फेडरलिजम एन्ड लोकलाइजेसन'का अध्यक्ष तथा संघीयताका ज्ञाता खिमलाल देवाकोटाले संघीयता बलियो बनाउन केन्द्रीय स्रोतको बाँडफाँड, कर्मचारी व्यवस्थापन र कानुनको निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले प्रदेश र स्थानीय तहमा काम पठाउने तर स्रोत नपठाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
