देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैन : वामदेव गौतम

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

The country is on the brink of disaster, no one can stop it: Vamdev Gautam

काठमाडौँ — राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरू नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले दस वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि दलहरूले केही पनि गर्न नसकेको बताए।

उनले दल तथा सरकारले संविधानको भावना र मर्मलाई आत्मसात् गर्ने गरी काम गर्न नसक्दा जनतामा निराशा आएको बताएका छन्। नेपालको कुनै पनि सार्वजनिक स्थानमा जाँदा जनताहरू नेता तथा व्यवस्थाको विरुद्धमा रहेको जिकिर गर्दै समाजमा व्यवस्था विरोधी शक्तिले गति लिइरहेको उल्लेख गरे।

उनले दलहरूले समयमै सचेत भएर जनगुनासो सम्बोधन गर्न नसके अर्को व्यवस्था आउन सक्ने भएकाले सचेत हुनुपर्ने बताएका छन्। देश ठूलो दुर्घटनाको छेउमा पुगिसकेको र परिवर्तनको सिद्धान्तअनुसार कसैले रोक्न नसक्ने दाबी गरे ।

उनले भने, ‘नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भाग लिइरहेको बेलामा मलाई ज्यादै नराम्रो लागेको छ। नेपाली जनताको निम्ति, नेपाल राष्ट्रका निम्ति हामी सबै दुर्घटनाको छेउमा छौँ भन्ने महसुस भएको छ। कति समयसम्म यसरी छलफल गर्छौँ थाहा छैन, तर जे हुनुपर्ने हो त्यो भएन भने अर्को कुरा हुन्छ, यो सिद्धान्त हो। कसैले रोक्न सक्दैन। रोक्न खोजे पनि त्यो अवस्था आयो भने दुर्घटनामा जान्छ र ठूलो नोक्सानी जनताले र राष्ट्रले व्यहोर्नु पर्ने हुन्छ।’

उनले नेपालको संविधानमा नेपाल राज्यलाई चिनाउनका निम्ति समाजवाद उन्मुख राज्य निर्माण गर्ने भनिएको र त्यो समाजवाद उन्मुख कुरा सबै नेताहरूको मुखमा झुन्डिएको भए पनि समाजवाद बन्न नसकेको बताए । गाउँमा, बाटोमा वा चिया पसलमा जाँदा व्यवस्थाको विरुद्ध चर्चा भइरहेको बताउँदै उनले यस विषयले गति लिइरहेको र त्यो गति एक दिन विस्फोट हुन सक्ने उल्लेख गरे ।

उनले भने, 'मौका छ केही समय, यो व्यवस्था ल्याउने नेपाली कांग्रेस र कम्युनिस्टहरू नै हुन्, एकताबद्ध भएर संविधानमा उल्लेख गरिएअनुसार समाजवाद घोषणा गर्नुपर्छ। ढिला नगरी त्यो काम सुरु गर्नुपर्छ।'

राष्ट्रिय सभा सदस्य गौतमले आफूले चार वर्ष लगाएर समाजवादको खाका तयार पारेको भए पनि कुनै पनि नेताले त्यसबारे अध्ययन नगरेको गुनासो गरेका छन्।

कान्तिपुर

Link copied successfully