मिश्रको तर्फबाट दायर रिटमा कारण देखाउ र बन्दी उपस्थित गराउने सर्वोच्चको आदेश

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

Supreme Court's order to show cause and present the prisoner in the writ filed on behalf of Mishra

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ र बन्दी उपस्थित गराउने आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नको कारण देखाउ र बन्दी उपस्थित गराउने आदेश गरेको हो । 

राजावादीहरूले गत चैत १५ मा तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा भूमिका खेलेको आरोपमा प्रहरीले मिश्रलगायतलाई पक्राउ गरेको थियो । उनले सोही दिन पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा मिश्रकी श्रीमती सारिका कार्कीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन् । सोही निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश पोखरेलको इजलासले कारण देखाउसँगै बन्दी उपस्थित गराउन आदेश जारी गरेको हो ।

कार्कीले दायर गरेको निवेदनमा गृह मन्त्रालय, प्रहरी महानिरीक्षक, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी महानिरिक्षक, सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक, काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीका प्रमुख, काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं, कामाडौं जिल्ला अदालत, महान्याधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय प्रमुख, काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ । 

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको हो । उक्त आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं पनि थुनामै छन् । 

मिश्रलाई पछिल्लो समय मंगलबार काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । मिश्रमाथि पछिल्लो समय आपराधिक उपद्रवको कसुर गरेको भन्दै अनुसन्धान भइरहेको छ ।  

कान्तिपुर

Link copied successfully