चालु खर्च ६५ बाट ३५ प्रतिशतमा झारेर बजेट ल्याउनुस्, समर्थन गर्छौं : शर्मा 

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

Reduce current expenditure from 65% to 35% and bring the budget, we support it: Sharma

काठमाडौँ — प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद जनार्दन शर्माले नेपालको आर्थिक पुनर्संरचनाको लागि राष्ट्रिय बहस र राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

शर्माले आर्थिक क्षेत्रको पुनर्संरचना गरेर मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनले बजेटमा चालु खर्च व्यापक रूपमा घटाएर ल्याएमा समर्थन गर्ने पनि बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद शर्माले आगामी बजेट आम्दानी र खर्चको फाँटमात्र नभएर देशको समृद्धिको असमानताको खाडलबाट उकासिन नसकेका जनतालाई माथि उठाउने उद्देश्यमुलक दस्तावेजको रुपमा प्रस्तुत हुने अपेक्षा रहेको बताए ।

'बजेट बनाउँदा जनअपेक्षा पूरागर्ने स्रोत हामीसँग छैन । त्यो स्रोत कहाँबाट ल्याउने ? बजेटको ६५ प्रतिशत चालु खर्चमा जाने गरेको छ । १७ प्रतिशत मात्र पुँजीगत खर्च हो, त्यो पनि खर्च हुँदैन । त्यसकारण त्यो ६५ लाई ३५ मा झार्नेगरि ल्याउनुस् हाम्रो समर्थन रहनेछ,' उनले भने, 'राजनीतिक र प्रशासनिक क्षेत्रको खर्च घटाउनुपर्छ । त्यसबाटमात्र बजेट बनाउनसक्नु हुन्छ ।'

१० खर्बको वरिपरी मात्रै राजश्व उठ्ने भएकाले बजेट व्यवस्थापन गर्न समस्या पर्ने शर्माको भनाइ थियो । उनले आर्थिक रुपान्तरणमा जानुपर्ने बताए । 'आर्थिक पुर्नसंरचनाका लागि राष्ट्रिय बहस, राष्ट्रिय सहमति यस क्षेत्रमा आवश्यक छ । त्यसकारण विनियोजित बजेटबाट परिणाम हासिल गर्नका लागि संरचनागत सुधारको कुरामा कडा भन्दा कडा हुनुहोस् । दुई तिहाइको सरकार छ, तपाईंहरूले गर्नुभयो भने हाम्रो पनि सहमति हुनेछ,' उनले भने । 

बजेट आम्दानी र खर्चको फाँटवारीमात्र नभएर देशको समृद्धि, सामाजिक न्याय र असमानताका खाडलबाट उकासिन नसकेका जनतालाई माथि ल्याउने उद्देश्यमुलक दस्तावेज बन्नुपर्ने पनि शर्माको भनाइ थियो । 

उनले भूकम्पको शीर्षकमा बजेट नछुट्याइएको जानकारी प्राप्त भएको भन्दै भूकम्पको पुनर्निर्माणका लागि रकम उपलब्ध गराउन माग गरे । शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार हुन नसक्दा जनतामा निराशा भएकोले जनताको निशारा चिर्ने गरी बजेट ल्याउन उनले सुझाव दिएका छन् ।  

कान्तिपुर

Link copied successfully