मन्त्रिपरिषद्को निर्णयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण गरिएको हो : प्राधिकरण 

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

According to the decision of the Council of Ministers, land has been acquired for Gautam Buddha International Airport: Authority

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने जग्गाको अधिग्रहण मन्त्रिपरिषद्को निर्णयले भएको प्रस्टीकरण दिएको छ ।

विमानस्थलका नाममा आवश्यकताभन्दा बढी जग्गा अधिग्रहण भएको भनी प्रश्न उठेको बेला प्राधिरणकले मन्त्रिपरिषद्को निर्णयले जग्गा खरिदको कार्य भएको प्रस्टीकरण दिएको हो । प्राधिकरणले बुधबार विज्ञप्ति जारी गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने जग्गाको खरिद कार्यबारे जानकारी दिएको हो ।

'अन्तर्राष्ट्रिय विमानस्थल संचालन पूर्व सो स्थानमा भैरहवा विमानस्थलको नाममा वि.सं. २०१५ सालबाट नै आन्तरिक उडानहरू संचालन हुँदै आएका थिए । आन्तरिक विमानस्थललाई समयक्रम अनुसार नियमित रुपमा स्तरोन्नति गर्ने नेपाल सरकारको योजनाबमोजिम उक्त विमानस्थललाई आवश्यक पर्ने उड्डयन संरचना निर्माणको लागि नेपाल सरकार मन्त्रिपरिषद‌को निर्णयानुसार विभिन्न मितिमा पटक-पटक जग्गा अधिग्रहणको कार्य हुँदै आएको,' प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणले गौतमबुद्ध विमानस्थलका नाममा हाल करिब ५०० बिघा जग्गा रहेको पनि जानकारी दिएको छ । 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पको रुपमा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने उद्देश्यले मन्त्रिपरिषद‌्को २०७२ पुस २९ तथा २०७३ बैशाख ७ को निर्णयबमोजिम हालसम्म करिब ४५३ बिघा जग्गा अधिग्रहण भएको र अन्य करीब ४७ बिघा सार्वजनिक जग्गा (पर्ती, ऐलानी, खोला, कूलो आदी) गरी करिब ५०० बिगाहा मात्र रहेको,' प्राधिकरणले भनेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहणको निर्णय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो । ओली पहिलोपटक २०७२ असोज २५ देखि २०७३ साउन १९ सम्म प्रधानमन्त्री बनेका थिए । सोही समयमा विमानस्थलका लागि जमिन खरिदको निर्णय भएको थियो । विमानस्थलको निर्माण कार्य हुँदा पनि ओली प्रधानमन्त्री थिए । उनको नेतृत्वमा दोस्रोपटक २०७४ फागुन ३ देखि २०७८ बैशाख ३० सम्म सरकार थियो । विमानस्थलको शिलान्यास भने कांग्रेसबाट प्रधानमन्त्री बनेका सुशील कोइराला र उद्घाटन शेरबहादुर देउवाले गरेका थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास कोइरालाले २०७१ माघ १ मा गरेका थिए भने देउवाले  २०७९ जेठ २ मा देउवाले उद्घाटन गरेका थिए । 

विमानस्थलको गुरुयोजनाबमोजिम कूल उपलब्ध जग्गालाई धावनमार्ग, ट्याक्सी-वे, जहाज पार्किङ क्षेत्र, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल टावर, विभिन्न इक्वीपमेन्ट एरिया, फ्लाइट क्याटरिङ, डिजास्टर रेस्पोन्स तथा विमानस्थल उद्धार तथा अग्नि निवारण भवन तथा वारुणयन्त्र पार्किङको लागि जग्गा खरिद गरिएको प्राधिकरणको भनाइ छ ।

त्यस्तै, विमानस्थलको सर्भिलान्स एरिया - राडारको लागि, विमानस्थलको गुरुयोजनाबमोजिम भविष्यमा निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय टर्मिनल भवन, आयल निगम डिपो, कार्गो टर्मिनल भवन, हेलिप्याडदेखि हेलि टर्मिनल, जलवायु तथा मौसम पुर्वानुमान कार्यालयका लागि आवश्यक संरचना तथा सवारी साधन पार्किङको लागि जग्गा प्रयोग गरिएको भनिएको छ । उक्त जग्गामध्ये कर्मचारी आवास गृह र अन्य प्रशासनिक भवन निर्माणको लागि समेत करिब ४० बिगाहा छुट्याइएको प्राधिकरणको प्रस्टीकरण छ । 

कान्तिपुर संवाददाता

Link copied successfully