सगरमाथा संवादमा १७५ विदेशी पाहुना 

शुक्रबारदेखि तीन दिनसम्म काठमाडौंमा हुने सम्मेलनमा विभिन्न राष्ट्र प्रमुख, सरकार  प्रमुखलाई निमन्त्रणा गरिए पनि मन्त्री तहसम्मको मात्र सहभागिता रहने 

वैशाख ३१, २०८२

नुमा थाम्सुहाङ

175 foreign guests at Everest Dialogue

काठमाडौँ — काठमाडौंमा २ जेठदेखि तीन दिनसम्म हुने सगरमाथा संवादको पहिलो संस्करणमा १७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । सरकारले सगरमाथा संवादमा विभिन्न राष्ट्र प्रमुख, सरकार प्रमुखलाई समेत निमन्त्रणा गरेकामा मन्त्री तहसम्मको मात्रै प्रतिनिधित्व हुने भएको छ । 

परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार सगरमाथा संवादमा स्वदेशी र विदेशी गरी ३५० जनाको उपस्थिति रहनेछ । विभिन्न १२ देशबाट सम्बन्धित मन्त्री तथा उच्च प्रतिनिधि संवादमा सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ ।

संवादमा चीनबाट राष्ट्रिय जनकंग्रेसका स्थायी समिति उपाध्यक्ष सियाओ जिए र भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । कोप–२९ का अध्यक्ष एवं अजरबैजानका पारिस्थितिकी तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ पनि संवादमा सहभागी हुनेछन् । 

जापानबाट संसदीय उपविदेशमन्त्री इकुइना अकिको, भुटानबाट ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, माल्दिभ्सबाट पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम र बेलायतबाट उपविदेशमन्त्री ब्यारोनेस सुसान हेमन पनि संवादका लागि आउनेछन् । 

कतारबाट राजदूत एवं जलवायु परिवर्तनका लागि विदेश मन्त्रालयका विशेष दूत एवं उपमन्त्री बदर उमर अल दफा र युनाइटेड अरब इमिरेट्सबाट ऊर्जा तथा दिगोपन मामिलाका सहायक विदेशमन्त्री अब्दुल्ला बलाला संवादमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

पाकिस्तान र बहराइनबाट एक–एक मन्त्री र बंगलादेशबाट समाज कल्याण र महिला तथा बालबालिका मन्त्रालयका सल्लाहकार संवादमा सहभागी हुनेछन् । किर्गिस्तान, ओमन, ब्राजिल र इजिप्टले पनि प्रतिनिधित्व गराउनेछन् । ‘सार्क, बिमस्टेक, लस एन्ड ड्यामेज फन्ड, विकास साझेदार गरी ६१ संघसंस्थाका प्रतिनिधि पनि संवादमा सहभागी हुनेछन्,’ परराष्ट्रमन्त्री राणाले भनिन् । 

सगरमाथा संवादको पहिलो संस्करण ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित छ । यही अवधारणाअनुरूप नै विभिन्न देशका प्रतिनिधिले संवादमा सहभागिता जनाउने परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् । ‘यो संवाद विश्वव्यापी मञ्च हो । सबैका लागि महत्त्वपूर्ण मञ्च हो,’ उनले भनिन्, ‘यहाँ मानव जगत्का विभिन्न समस्यामा संवाद गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ ।’ 

मन्त्री राणाका अनुसार सगरमाथा संवादका क्रममा साइडलाइन बैठकहरू पनि हुनेछन् । ‘विदेशी पाहुनाका लागि प्रधानमन्त्री र समकक्षी मन्त्रीसँग भेटको समेत व्यवस्था मिलाइएको छ । संवादबाट नेपालले कूटनीतिक नेतृत्वको भूमिका खेल्न सक्छ भन्ने विश्वास छ,’ उनले भनिन् । 

सगरमाथा संवादको पहिलो संस्करणमा ‘पर्वतभन्दा बाहिर : पर्वतलाई महासागरसँग जोड्दै,’ ‘हरित अर्थतन्त्र,’ ‘जलवायु न्याय र मानवताको भविष्य,’ ‘हानि–नोक्सानीबाट बच्ने, न्यूनीकरण गर्ने र सम्बोधन गर्ने उपाय’ र ‘विश्वव्यापी र क्षेत्रीय साझेदारी’ गरी ५ वटा अवधारणाका सत्र सञ्चालन हुनेछन् ।

कार्यक्रमको अन्तिम दिन ‘सगरमाथा संवाद घोषणा’ गरिनेछ । घोषणाअघि आमन्त्रित पाहुनालाई हवाई उडानबाट सगरमाथा अवलोकन गराउने तयारी छ । सरकारले २०७६ मै सगरमाथा संवाद आयोजनाको तयारी गरेको थियो । तर कोभिड–१९ महामारीका कारण अन्तिम समयमा स्थगन गरिएको थियो । त्यति बेला पनि केपी शर्मा ओली नै प्रधानमन्त्री थिए ।

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully