काठमाडौँ — सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि, बीपी राजमार्ग १५ घन्टापछि सञ्चालनमा, चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन गरिने प्रधानमन्त्री ओलीको भनाइदेखि रुस–युक्रेन वार्ता स् ट्रम्पलाई टर्की भ्रमण गर्न जेलेनस्कीको आग्रहसम्मका खबर आज चर्चामा रहे ।
०००
सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने जानकारी दिइन्। उनले संवादमा ३५० जना सहभागी रहने बताइन्। सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूसम्मको उपस्थिति रहने बताइएको छ ।
०००
बीपी राजमार्ग १५ घन्टापछि सञ्चालनमा आएको छ । बाढीले अवरुद्ध बनेको बीपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिका–११ स्थित माम्तीमा बाढीले डाइार्भसन बगाउँदा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार डाइभर्सन बनाएर मोटरसाइकल लगायतका साना गाडी सञ्चालनमा आइसकेका छन् भने ठूला सवारीलाई पनि बिस्तारै पठाउन थालिएको छ ।
०००
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुने बताएका छन्। मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा हिनामिना भएको भन्ने गुनासो आएको भन्दै त्यसको छानबिन हुने बताएका हुन् ।
०००
उच्च अदालत पाटनले डोल्पामा निर्माण हुने १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाका विवादित ठेक्कासम्बन्धी सक्कल फाइल झिकाएको छ । उच्च अदालत, पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र प्रकाश खरेलको इजलासले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई विवादित ठेक्काको बोलपत्र मूल्यांकनसम्बन्धी सक्कल फाइल नै इजलासमा ल्याउन आदेश गरेको हो ।
०००
टर्कीलाई रूस र युक्रेन बीचको वार्ता स्थलका रूपमा प्रस्ताव गरिएकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टर्की भ्रमण गर्ने अवसर खोज्न आग्रह गरेका छन् । एक भिडियो सन्देशमा युक्रेनी राष्ट्रपतिले वार्ताका लागि टर्की जान तयार रहेको बताए । एक्समा पोस्ट गरिएको सन्देशमा जेलेन्स्कीले ‘रुसी गोलाबारी र आक्रमणहरू जारी रहेको’ पनि आरोप लगाएका छन् ।
