चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुन्छ : प्रधानमन्त्री ओली

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

There will be an investigation into the land embezzlement of the Film Development Board: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुने बताएका छन्। मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  यसअघि चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा हिनामिना भएको भन्ने गुनासो आएको भन्दै त्यसको छानबिन हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त जग्गाबारे छानबिन गर्न सम्बन्धित मन्त्री र सचिवलाई निर्देशन दिएका थिए। कसैले हिनामिना गरेको छ भने त्यसलाई कानुनी प्रक्रियामा ल्याएर सरकारले नियन्त्रणमा लिने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

उनले भने, 'पहिला चलचित्र विकास कम्पनी भन्ने थियो। चलचित्र विकास कम्पनीको जमिन पनि हिनामिना छ भनेको सुन्दा म छक्क परेँ। तत्सम्बन्धी मन्त्रालयका मन्त्रीज्यू र सचिवज्यू यहीँ हुनुहुन्छ। हप्ता, १० दिनमा त त्यसको पत्ता लगाइहाल्नुहोला। के भएको छ, हामी खोज्छौँ। यदि कसैले हिनामिना गरेको छ भने त्यसलाई कानुनी प्रक्रिया पुर्‍याएर कन्ट्रोलमा ल्याउँछौँ।'

प्रधानमन्त्री ओलीले चलचित्र विकास बोर्डको मातहतमा कोष निर्माण गर्ने माग आएको भन्दै त्यसप्रति सरकार सकारात्मक रहेको बताए ।

कान्तिपुर

Link copied successfully