काठमाडौँ — रास्वपा सांसद मनिष झाले सांगठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधि परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद झाले वर्तमानको आवश्यकता र सरकारको प्राथमिकता फरक भएको भन्दै सुशासनको विषयमा जोड दिन आग्रह गरेका हुन् ।
देशमा सुशासन सुधार गर्नुपर्ने अवस्थामा सरकारले भने अर्कै सपना देखाउने गरेको उनको भनाइ छ । सरकारको आकार ठूलो भएको बताउँदै उनले संघीयताको सवलीकरणका लागि धेरै संस्था खोल्न बन्द गर्नुपर्ने बताए । उनले भने, 'हामीलाई चाहिएको छ ड्राइभिङ लाइसेन्स पाँच दिन दश दिनमा । तर हामी पानी जहाज अफिसको उद्घाटन गर्छौं ।' आर्थिक अवस्था, अगाडि बढाउने, जीविकोपार्जन र दैनिकीलगायत सबै कुरा सुधार्नुपर्ने उनले बताए ।
नेपालको हकमा प्रतिव्यक्ति आय र जीडीपीको साइज बढिराखे पनि विगत २० वर्षदेखि नेपालको आर्थिक स्वतन्त्रताको सूचकांकमा सुधार नभएको भन्ने देखाएको सांसद झाको भनाइ छ । उनले भने, 'हाम्रो साइज अफ इकोनोमी र प्रतिव्यक्ति आय बढेर पनि यदि आर्थिक स्वतन्त्रता बढी राखेको छैन भने हामीले सोच्न सिकाइराखेका छैनौं । तर, अभिव्यक्तिको स्वतन्त्रता दिइराखेका छौं भने त्यसले सकारात्मक परिणाम ल्याउँदैन ।'
