सरकारमाथि गरिने आलोचना र खण्डनहरू स्विकार्छौँ : मन्त्री गुरुङ

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

We accept the criticism and rebuttals of the government: Minister Gurung

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारमाथि गरिने आलोचना र खण्डनहरू स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन्।

मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गर्दै विरोधका लागि मात्र विरोध नगर्न चेतावनी दिएका थिए।

मन्त्री गुरुङका अनुसार मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको छ। नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूले नेपालको कानुन मान्नैपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

उनले भने, 'तपाईँहरूले आलोचना गर्नुस् हामीलाई। हाम्रा कुराहरू खण्डन हुन सक्छन्, त्यो हामी स्विकार्न तयार छौँ। कहाँ बिग्रियो भन्ने कुरा गर्नुहोस्—देशको हितमा, क्षेत्रको हितमा, जनताको हितमा कहाँ भएन? लोकतन्त्रको हितमा कहाँ भएन भन्ने कुरा गर्नुहोस्। त्यो हामी सहर्ष स्विकार्न तयार छौँ। विरोधका लागि विरोध गर्ने प्रवृत्ति विकसित भइरहेको छ। त्यसको व्यवस्थापन गर्दा हामीले ठूला समस्याहरू भोग्नुपरेको छ। मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको छ। यति धेरै पैसा कमाउने सामाजिक सञ्जाल प्लेटफर्महरू छन्, त्यसको प्रयोग जसले गरिरहेको छ, उसले नेपालको संविधान मान्नुपर्दैन त? नेपालको कानुन मान्नुपर्दैन त? हामी सबैले—म, प्रधानमन्त्रीज्यू, राष्ट्रपतिज्यू—मान्नुपर्छ भने तिनले किन नमान्ने? त्यसको नियमन आवश्यक छ।'

मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोग, सञ्चालन र नियमनसम्बन्धी विधेयक संसद्मा प्रस्तुत भइसकेको र चाँडोभन्दा चाँडो पारित गर्ने तयारी भइरहेको बताएका छन्। साइबर अपराध नियन्त्रण मन्त्रालयको पहिलो प्राथमिकता भएको पनि उनले उल्लेख गरेका छन्।

कान्तिपुर

Link copied successfully