जनमत–उन्मुक्ति एकता अनिश्चित

उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ र रिहाको घटनापति दुई दलका शीर्ष नेताबीच संवादसमेत हुन सकेको छैन

वैशाख ३०, २०८२

गंगा बीसी

Uncertain public opinion-liberation unity

काठमाडौँ — जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता अनिश्चित भएको छ । पार्टी एकता घोषणा तय गरेकै दिन यही वैशाख १७ मा नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको एकता प्रक्रिया अनिश्चित बनेको हो ।

त्यसयता जनमत अध्यक्ष सीके राउत र उन्मुक्ति संरक्षक चौधरीबीच पार्टी एकताको विषयमा संवादसमेत भएको छैन । जनमतका नेता गम्भीर नभएकाले पार्टी एकता अनिश्चित बनेको उन्मुक्तिका नेताहरूले आरोप लगाएका छन् । 

वैशाख १७ को बेलुका चौधरी थुनामुक्त भएपछि जनमत र उन्मुक्ति नेतृत्वबीच एकताको सहमतिपत्रमा हस्ताक्षरको प्रयास भएको थियो । उन्मुक्तिका नेताहरूका अनुसार जनमतका नेताले ‘एकता गर्न हतार नगरौं’ भनेकाले स्थगित भएको थियो । दुई पार्टीको कार्यदलबीच पदाधिकारी र केन्द्रीय कार्यसमितिको जिम्मेवारी बाँडफाँट टुंग्याउन बाँकी राखेर एकता घोषणा गर्ने तयारी हुँदै थियो । 

Uncertain public opinion-liberation unity

जनमतका अध्यक्ष राउतले चौधरी पक्राउ प्रकरणको समीक्षा भइरहेको उल्लेख गर्दै एकताका लागि अझै गृहकार्य गर्नुपर्ने बताए । ‘अहिलेसम्म एकता कार्यदलको बैठक बसेर एकताका लागि गृहकार्य हुन सकेको छैन,’ उनले भने, ‘केही सांगठनिक विषयमा गृहकार्य गर्न बाँकी रहेकाले केही समय लाग्ने देखिन्छ ।’ चौधरी पक्राउ पर्नुको कारणबारे समीक्षा आवश्यक भएको उल्लेख गर्दै उनले यसबारे निष्कर्ष निकाल्न बाँकी रहेको बताए ।

उन्मुक्तिका संरक्षक चौधरीले पछिल्लो समय पार्टी एकताबारे जनमतका अध्यक्ष राउतसँग संवाद नभएको बताए । एकता घोषणा कार्यक्रममा आफू पक्राउ परेपछि एकता प्रक्रिया जटिल हुँदै गएको उनको भनाइ छ । ‘पार्टी एकता हुन नदिन विभिन्न तत्त्व खेलिरहेका छन्,’ उनले भने, ‘जनमतका अध्यक्ष राउत आफ्नो काममा लागिसक्नुभएको छ । हामी पनि आफ्नो पार्टीको काममा लागेका छौं । अब पार्टी एकता २०८४ सालको निर्वाचनअघि होला जस्तो छैन ।’ 

अनधिकृत पत्रका आधारमा आफूलाई पक्राउ गर्नु र त्यसपछि एकताका लागि जनमतले बेवास्ता गर्नु रहस्यमय भएको चौधरीको भनाइ छ । ‘म पक्राउ परेर रिहा भएको यत्रो दिन भइसक्यो । संवादसमेत नभएकाले एकता प्रक्रिया जटिल भएको छ,’ उनले भने, ‘सुरुमा एकता हुन नदिन राज्यले खेलेजस्तो देखिन्थ्यो । अहिले अरू नै कारण देखिन्छ ।’ 

उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ चौधरीले पार्टी एकताबारे जनमत अध्यक्ष राउतसँग आइतबार संसद् भवनमा कुराकानी भएको बताइन् । ‘थप गृहकार्य गरेर पुनः एकता प्रक्रिया अघि बढाउने कुरा भएको छ,’ उनले भनिन् । पक्राउ परेर छुटेपछि पार्टी संरक्षक चौधरी केही समय आराम गर्ने भनेकाले एकताका लागि छलफल नभएको उनको भनाइ थियो । 

संरक्षक चौधरीले पार्टी एकताका लागि बनाएको नौ बुँदे समझदारीमा जनमत अध्यक्ष राउतले हस्ताक्षर गरिसकेको दाबी गरे । ‘मैले र रञ्जिताले हस्ताक्षर गर्न बाँकी थियो,’ उनले भने, ‘त्यसपछि अध्यक्ष राउत टाढिनुभयो ।’ जनमत प्रवक्ता शरदसिंह यादवले पार्टी एकता घोषणा गर्ने दिन भएको घटनाको आआफ्नो दलमा समीक्षा गरेर टुंगोमा पुग्ने बताए । ‘पार्टी संरक्षक रेशम चौधरी, अध्यक्ष सीके राउत र सहअध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी हुने सहमति भइसकेको थियो । अरू मिलाउन समस्या थिएन । तर त्यो घटनाले ढिलाइ भयो,’ उनले भने ।

...

‘०८४ सालको निर्वाचनअघि एकता होला जस्तो लाग्दैन’

Uncertain public opinion-liberation unity

–रेशम चौधरी, उन्मुक्ति संरक्षक 

पार्टी एकता प्रक्रिया कहाँ पुग्यो ?

एकता घोषणा कार्यक्रमबाट अनधिकृत पत्रका आधारमा प्रहरीले मलाई पक्राउ गर्‍यो । त्यसपछि एकता घोषणा स्थगित भयो । बेलुका म छुटेपछि एकता गर्ने तयारी भएको थियो । तर रहस्यमय तरिकाले एकता भएन । म रणभुल्लमा परें ।

एकता नहुनुमा के रहस्य देख्नुभयो ?

एकताका लागि बनाएको नौबुँदे सहमतिमा सीके राउतले हस्ताक्षर गरिसक्नुभएको थियो । मैले र रञ्जिताले हस्ताक्षर गर्न बाँकी थियो । मलाई पक्राउ गरेपछि राज्यले खेलेको जस्तो लागेको थियो । सरकारले गल्ती भयो भनिसकेको छ । तर अहिले एकता हुन नदिन विभिन्न तत्त्व खेलिरहेका छन् । एकता प्रक्रिया झन् जटिल बन्दै गएको छ ।

अब एकता कहिले हुन्छ ?

हामी आआफ्नो काममा लागिसकेका छौं । पार्टीका जिल्ला र क्षेत्रीय सम्मेलनमा लागेका छौं भने सीकेजी पनि आफ्नै काममा हुनुहुन्छ । पार्टी एकताका लागि संवाद भएको छैन । एकता हुन लामो समय लाग्ने देखिन्छ । ०८४ सालको निर्वाचनअघि एकता होला जस्तो लाग्दैन ।

...

‘थप गृहकार्य गरेर एकता प्रक्रिया अघि बढाउनुपर्छ’

Uncertain public opinion-liberation unity

–रञ्जिता श्रेष्ठ चौधरी, उन्मुक्ति अध्यक्ष 

पार्टी एकताको कुरा कहाँ पुग्यो ?

वैशाख १७ मा एकताको सबै तयारी भइसकेको थियो । हाम्रो पार्टी संरक्षक रेशम चौधरीलाई पक्राउ र रिहा गरिएपछि स्थगित भयो । योबीचमा छलफल हुन पाएन । अबचाहिँ कुराकानी गर्नुपर्छ भन्ने भएको छ । 

ढिलाइ हुनुको कारण के हो ? 

जनमत अध्यक्ष सीके राउतसँग गत आइतबार संसद् भवनमा मेरो कुराकानी भएको थियो । थप गृहकार्य गरेर पुनः एकता प्रक्रिया अघि बढाउनुपर्छ भन्ने भएको छ । सीके राउत र रेशम चौधरी बसेर छिटै टुंग्याउने कुरा भएको छ ।

एकता प्रक्रिया बिथोलिएको हो ?

बिथोलिइसकेको छैन । पक्राउको घटनापछि पार्टी संरक्षक रेशम चौधरीले केही समय शान्त बस्छु भन्नुभयो । केही समय उहाँले आराम गर्नुभयो । अबचाहिँ छलफल गर्नुपर्छ भन्ने भएको छ । त्यसबीचमा छलफल भएन । 

पार्टी एकताबारे उन्मुक्तिभित्र विवाद भएको हो ?

होइन, एकता गर्न पार्टीले निर्णय गरिसकेको छ । पार्टीभित्र कुनै विवाद छैन । हामीले सहमतिमै निर्णय गरेका हौं । 

गंगा

Link copied successfully