‘थप गृहकार्य गरेर एकता प्रक्रिया अघि बढाउनुपर्छ’

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

”We should do more homework and advance the unity process”

काठमाडौँ — जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता अनिश्चित भएको छ । पार्टी एकता घोषणा तय गरेकै दिन यही वैशाख १७ मा नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको एकता प्रक्रिया अनिश्चित बनेको हो ।उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँगको कुराकानी :

पार्टी एकताको कुरा कहाँ पुग्यो ?

वैशाख १७ मा एकताको सबै तयारी भइसकेको थियो । हाम्रो पार्टी संरक्षक रेशम चौधरीलाई पक्राउ र रिहा गरिएपछि स्थगित भयो । योबीचमा छलफल हुन पाएन । अबचाहिँ कुराकानी गर्नुपर्छ भन्ने भएको छ । 

ढिलाइ हुनुको कारण के हो ? 

जनमत अध्यक्ष सीके राउतसँग गत आइतबार संसद् भवनमा मेरो कुराकानी भएको थियो । थप गृहकार्य गरेर पुनः एकता प्रक्रिया अघि बढाउनुपर्छ भन्ने भएको छ । सीके राउत र रेशम चौधरी बसेर छिटै टुंग्याउने कुरा भएको छ ।

एकता प्रक्रिया बिथोलिएको हो ?

बिथोलिइसकेको छैन । पक्राउको घटनापछि पार्टी संरक्षक रेशम चौधरीले केही समय शान्त बस्छु भन्नुभयो । केही समय उहाँले आराम गर्नुभयो । अबचाहिँ छलफल गर्नुपर्छ भन्ने भएको छ । त्यसबीचमा छलफल भएन । 

पार्टी एकताबारे उन्मुक्तिभित्र विवाद भएको हो ?

होइन, एकता गर्न पार्टीले निर्णय गरिसकेको छ । पार्टीभित्र कुनै विवाद छैन । हामीले सहमतिमै निर्णय गरेका हौं ।

कान्तिपुर

Link copied successfully