देश कसले चलाएको छ भन्ने सरकारको परीक्षा गभर्नर नियुक्तिमा हुनेछ : पुन

'गभर्नर नियुक्ति स्वार्थ समूहको स्वार्थमा नहोस्, राजनीतिक कार्यकर्ता नहोस्, गैरविज्ञ मान्छे नआओस् भन्नेतर्फ सरकारलाई सचेत गराउन चाहन्छुु'

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

The test of the government of who has run the country will be in the appointment of the governor: again

काठमाडौँ — नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिले सरकार कसले चलाएको छ भन्ने पुष्टि हुने पूर्वअर्थमन्त्री तथा माओवादी सांसद वर्षमान पुनले बताएका छन् । गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलहरू एमाले र कांग्रेस निकासमा पुग्न नसकेका बेला पूर्वअर्थमन्त्री पुनको यस्तो प्रतिक्रिया आएको हो । 

संघीय संसद् भवनमा मंगलबार सांसद पुनले राजनीतिक दल वा राजनीतिज्ञले देश सञ्चालन गरिरहेको छ वा अरु कसैले भन्नेकुरा गभर्नर नियुक्तिसम्म प्रष्ट हुने बताएका छन् ।

‘गर्भनरको विषयलाई राजनीतिकरण गरिएको छ । राजनीतिक दलहरूले देश सञ्चालन गरिरहेको छ या अरु कसैले भन्नेकुरा अहिलेसम्म आउँदा झन प्रस्ट हुँदै गएको छ,' उनले भने, 'राष्ट्र बैंकको गभर्नरसम्मको नियुक्तिमा परीक्षा हुनेछ, देश कसले चलाएको छ ? राजनीतिज्ञले या विचौलियाले ? आज सबै तथ्य र व्यवहारले त्यो कुरा पुष्टि हुन्छ ।'

नेपाल राष्ट्र बैंकको गभर्नर डेपुटि गभर्नरमध्येबाट नै बनाउने प्रचलन भए पनि त्यसो नहुँदा मौद्रिक नीतिमा विज्ञ वा विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने विश्वव्यापी चलन भएको उनको भनाइ थियो । अहिले कुनै स्वार्थ समूहले रुचाएको र उनीहरूको व्यापारिक स्वार्थ पूरा गर्ने खालको व्यक्ति खोजिएकोले स्वार्थ समूहसँग डीएनए नमिलेसम्म गभर्नर नियुक्ति नहुने उनले बताए ।

'यहाँ पार्टीको कार्यकर्ता अझ अरु कुनै स्वार्थ समूहले रुचाएको, उनीहरूको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएको छ । स्वार्थ समूहसँग डीएनए नमिलेसम्म गभर्नर नियुक्ति हुनेवाला छैन,' उनले भने, 'गभर्नर बिदा हुनुभन्दा एक महिना अघि गर्नुपर्ने हो तर दुई महिना बित्दासमेत नियुक्ति हुन नसक्नु दुःखद् कुरा हो । कानुन उल्लंघन भएको छ ।'

गभर्नर नियुक्तिमा राजनीतिक दल र स्वार्थ समूहका एजेन्डा नमिलिरहेको पुनको भनाइ थियो । 'एकातिर स्वार्थ समूहले आफ्नो अनुकुलको खोजिरहेको छ, अर्कातिर पार्टी कार्यकर्ता खोजि भइरहेको छ,' उनले प्रश्न गरे, 'देशको अर्थतन्त्र र बैंक तथा वित्तीय संस्था कसरी चल्छ ? सरकारले यसमा बुद्धि पुर्‍याउनु पर्छ । मौद्रिक नीतिमा, आर्थिक नीतिमा या वित्तिय नीतिमा विज्ञता हासिल गरेका व्यक्ति चाहे त्यो कार्यकर्ता होस् वा सामान्य मतदाता या समर्थक जो भएपनि त्यसमा हाम्रो आपत्ति हुँदैन । तर, स्वार्थ समूहको स्वार्थमा नहोस्, राजनीतिक कार्यकर्ता नहोस्, गैर विज्ञ मान्छे नआओस् भन्नेतर्फ सरकारलाई सचेत गराउन चाहन्छु ।'

गभर्नर नियुक्ति

कान्तिपुर

Link copied successfully