दक्षिण कोरिया पढ्न जान एनओसीमा रोक

पढ्नभन्दा रोजगारीमा जाने विद्यार्थी धेरै भेटिए : शिक्षा मन्त्रालय

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Stopped in NOC to study in South Korea

काठमाडौँ — शिक्षा मन्त्रालयले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको वेदेशिक अध्ययन अनुमति सर्टिफिकेट (एनओसी) वितरणमा रोक लगाएको छ ।

शिक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर दक्षिण कोरियाका लागि एनओसी जारी गर्ने कार्य हाललाई स्थगित गरिएको जनाएको छ । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले रोजगारीमा बढी प्राथमिकता दिएका कारण अध्ययनमा निरन्तरता नहुने समस्या देखिएको मन्त्रायले जनाएको छ ।

‘पढ्ने समय कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउने नसक्नेहरुमा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी पउने गरेको समस्स्या देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कोरिया अध्ययन गर्न जाने व्यवस्थामा नियमन गर्नुपर्ने आवश्यकता देखिएकाले एनओसी वितरण स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ । यसको नियमन र व्यवस्थित गर्न कार्यदल गठन गरिएको र कार्यदलको सिफारिसको आधारमा थप निर्णय गर्ने गरी हाललाई एनओसी रोकिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरिया धेरै नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानेमध्येको १० मुलुकभित्र पर्छ । गत आर्थिक वर्षमा ६ हजार ८ सय ८९ जनाले दक्षिण कोरियाका लागि एनओसी लिएका शिक्षा मन्त्रालयको तथ्यांक छ । त्यतिबेला १ लाख १२ हजार ५ सय ९३ जना विद्यार्थीले विदेश पढ्न जान एनओसी लिएका थिए ।

६६ देशमा ९४ विषय अध्ययनका लागि शिक्षा मन्त्रालयले एनओसी प्रदान गरेको तथ्यांक छ । २०८० साउनदेखि ०८१ असार मसान्तसम्म सबैभन्दा बढी जापानका लागि ३४ हजार ७ सय ३१ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएको शिक्षा मन्त्रालयले जनाएको छ । जापानपछि नेपाली विद्यार्थीका आकर्षणमा क्रमशः क्यानडा, अस्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायत परेको देखिन्छ । क्यानडा पढ्न जान १५ हजार ९ सय ८२, अस्ट्रेलिया जान १४ हजार ३ सय ७२ जना, बेलायत जान १३ हजार ३ सय ३९ जना, अमेरिका जान ११ हजार २ सय ६१ जना विद्यार्थीले एनओसी लिएका छन् ।

कान्तिपुर

Link copied successfully